मनोज भुजेल
सामुदायीक विद्यालयहरुमा गुणस्तरीय पुस्तक उपलब्ध गराइ बालबालिकाहरुमा पढन शैलीको विकास गर्ने उदेश्यका साथ नेपाल सरकारले दुई वर्ष अगाडी सुरु गरेको किताव परियोजना अन्तर्गतको किताब कुनाप्रतिको रुची विद्यालयहरुमा बढ्दै गएको छ । नेपाल सरकारको विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गतको यो परियोजनामा सुनसरी र मोरङका मात्रै आठ सय ३१ वटा विद्यालयमा २० हजार चार सय ४३ वटा किताव कुना निर्माण भइसकेका छन् । ति किताव कुनाहरु मध्ये कति पयमा किताव उपलब्ध भइसकेका छन् भने केहिले खारिद गरिरहेका छन् । वल्ड भिजनले सुनसरीमा सेभ द अर्थ र मोरङमा एससिडिसीको समन्वयमा किताव परियोजनाको लागि काम गरिरहेको छ । नेपाल सरकारले किताव परियोजनाका लागि विद्यायलसँगै बाल सहित्यमा काम गर्ने प्रकाशकहरुकालाई पनि भेला गरेर छलफल गरेको थियो । काठमाडौमा भएको छलफलमा किताब कुनाको अवधारण र त्यसका लागि चाहिने किताबहरुको विषयमा जानकार भएको परिचय पब्लिकेशनका सञ्चालक नविन खतिवडा बताउँछन् ।
‘काठमाडौँमा भएको छलफलमा किताब कुनाको अवधारण कस्तो हो र के के पुस्तक प्रकाशन गर्ने भनेर हामीलाई तालिम दिनुभयो । छलफलमा मोरङ र सुनसरीमा क कस्ले पुस्तक पुर्याउने भनेर सानो टिम बन्यो । त्यहि टिम पब्लीसर कन्सोर्टियम भयो ।
यो सँगै एउटा किताब किन्न र बेच्नको लागि ‘डिजिटल प्याटर्फम’ तयार भयो’, उनले भने ‘त्यहि माध्यमबाट सुनसरी र मोरङमा परिचय पब्लिकेशन सहित अन्य पब्लिकेशनले पुस्तक पुर्याइएको अबस्था छ ।’
‘त्यहाँ हामीले पुस्तक आपलोड गर्नुपर्ने थियो । किताब आपलोड गर्दा पब्लिसर विच रिभ्यू भएको हुनुपर्ने सर्त थियो । यो सँगै उहाँहरुले नेपाल सरकार शिक्षा मन्त्रालयका अन्तर्गतका कर्मचारी सहितको एक समिक्षा टोलि बनाएर हामीले प्रकाशन गरेका पुस्तकहरुको समिक्षा गर्नुभयो । र, उहाँहरुले सहि छन् भनेका पुस्तकहरु ससर्त हामीले अपलोड गर्यौँ ।’ त्यहाँ स्कुलहरुले अडर गर्ने र हामीले उहाँहरुको अडर अनुसारको प्याकेजिङ गरेर पालिकासम्म पुर्याएउने जिम्मेवारी लियौँ’, खतिवडाले भने ।
यहि माध्यमबाट अहिले सुनसरी र मोरङमा किताब कुना स्थापना भएका विद्यालयका कक्षा १ देखि ३ सम्ममा किताब पुगेका छन् । यसरी विद्यालयलाई प्रकाशकहरुले किताब बेच्न र विद्यालयहरुले त्यहाँबाट किताब किन्न मात्रै नभएर प्रत्यक्ष सम्बन्ध विस्तारको लागि यो परियोजना पुलको रुपमा रहेको खतिवडाले बताए । ‘यो प्रक्रिया हेर्दा प्रारम्भमा किताब किन्ने र बेच्ने मात्रै नभएर समग्रमा पब्लिशर र विद्यालयको सिधा सम्बन्ध स्थापीत गर्ने काम भएको छ ।
यसले हामी पब्लिसर र विद्यालय विच सुरक्षीत कारोबार पनि भयो । किन भने, स्थानीय साझेदार संघसंस्था र वल्र्ड भिजनले हामीमार्फत् विद्यालयमा पुस्तक पुर्याउने र विद्यालयले पनि हामीलाई नगद वा चेक मार्फत् भुक्तानि गर्न थाल्नु भयो । यसले दुबैलार्य फाइदा पुगेको छ । हाम्रो सम्बन्ध पनि मजबुद बनेको छ’, उनले भने । नेपाली र अंग्रेजी भाषासँगै स्थानीय भाषामा पनि पुस्तक प्रकाशन गरेकाले अझै नजिकबाट एक अर्कालाई चिन्ने मौका पाएको सञ्चालक खतिवडा बताउँछन् ।
‘हामीले योसँगै स्थानीय भाषाहरु: मैथली, पूर्वीय थारु, लिम्बू जस्ता भाषाहरुमा पनि किताब प्रकाशन गर्यौँ । यस्ता पुस्तकहरु बनाउँदा स्थानीय भाषाको प्रयोग गर्ने र त्यहाँको परिवेश अनुसारको चित्र बनाउने काममा हामी लाग्यो । यसले हामीले त्यहाँका परिवेशलाई पनि नियाल्ने मौका पायौँ’, उनले भने ।
यो सबै प्रक्रियामा ‘डिजिटल प्यालफर्म’ले महत्वपूर्ण भूमिका खेलेको उनि बताउँछन् । किताब परियोजना अन्र्तगत प्रकाशकहरुको मुख्य चुनौति भनेकै परियोजनाले तोकेको मापदण्डमा पुस्तक प्रकाशन गर्नु थियो । त्यसलाई पनि सहज रुपमा लिँदै परियोजनाको मापदण्ड अनुसार नै पुस्तक प्रकाशन गरेको खतिवडा बताउँछन् ।
‘अब विश्वसँग तुलना गर्ने हो भने त हामीले साह्रै कम पुस्तक प्रकाशन गरेका छौँ । तर, हाम्रो हिजो (विगत)सँग तुलना गर्दा भने हामीले धेरै फड्को मारेका छौँ । धेरै अगाडि पनि जानु पर्दैन सन् २००० को दशकमा जाने हो भने पनि हामीले यो २० वर्षको अवधिमा धेरै पुस्तक प्रकाशन गरेका छौँ । ति बालबालिकाका रुचि र आवश्यकतामा परेका छन् ।
योसँगै उनिहरुको सिकाई र पठन सिप विकासको लागि पनि प्रसस्तै पुस्तक प्रकासन भएका छन् । अहिले यो परियोजनको मापदण्ड अनुसारका पनि धेरै किताब बजारमा आएका छन् । परिचय पब्लिकेशनकै कुरा गर्नुहुन्छ भने पनि हामी कहाँ स्थानीय भाषाका १० सहित एक सय २० देखि एक सय २५ वटासम्म किताब छन् । परियोजनाले एउटा पानामा ८० देखि ९० प्रतिशत चित्र हुनुपर्ने र केबल १० प्रतिशत मात्र अक्षर हुनुपर्ने मापदण्ड तोकेको छ । बालबालीकाले अक्षर पढ्न नसक्ने र चित्रबाट छिट्टै बुझ्ने भएकाले हामीले पनि त्यहि अनुसारका पुस्तकहरु प्रकाशन गरेका छौँ’, उनले भने ।
अहिले नेपालमा किताब प्रकाशन गर्नेहरुको लहर बढिरहेको छ । नेपालका एउटै प्रकाशनसँग बालबालिकाका लागि आवश्यक ३०० भन्दा बढी पुस्तक पनि प्रकाशनमा आइरहेका छन् । यस्तै समुहिक रुपमा बालमानोविज्ञानलाई ख्याल गरेर एक दर्जन भन्दा बढी पुस्तकहरु एकैपटक पनि प्रकाशनमा आएका छन् । पुस्तक प्रकाशकले किताबमा अक्षर र चित्रको अनुपातसँगै अक्षरमा पनि विशेष ध्यान पुर्याएर पुस्तक प्रकाशन गर्ने गरेको खतिवडाको भनाइ छ ।
‘परियोजनाले एउट पानामा ८० देखि ९० प्रतिशत चित्र हुनुपर्ने मापदण्ड तोकेको छ । यो सँगै किताब कुना ३ कक्षासम्म मात्रै हुने हुँदा अक्षरमा पनि हामीले विशेष ध्यान दिएका हुन्छौँ । जस्तो कक्षा १ मा पढ्ने बालबालिकाले आधा अक्षर पढ्नै नसक्ने हुन्छन् ती कक्षाहरुमा आधा अक्षर भएका पुस्तकहरु नदिने भन्ने हाम्रो सोच हुन्छ र हामीले दिएका पनि छैनौँ’, उनले भने ।
परिचय पब्लिकेशनले मात्रै किताब परियोजनामा बालबालिकालाई सिक्न सहयोग पुगोस् भनेर २६ वटा त मात्राका मात्र पुस्तक राखेको उनले जानकारी दिए । मात्रा, अक्षर र चित्रमा आफूहरुले ठूलो मेहनत गर्दै आएको उनि बताउँछन् । यसको साथै किताब वितरणमा पनि परदर्शीत कायम गरेको उनको भनाइ छ । ‘हामीले प्रकाशन गरेका किताबहरु किताब कुनासम्म पुग्न विभिन्न चरणहरु छन् । पहिला उहाँहरुले कस्ता कस्ता किताब आवश्यक छ भनेर हामीलाई जानकारी गराउनुहुन्छ ।
अनि पब्लिशर कन्सोर्टियममा रहेका हामी पब्लिकेशनहरुले किताब उत्पादन गर्छौँ । त्यसपछि एक आपसमा हाम्रा प्रकाशनहरुको समिक्षा गर्छौँ । यसका साथै सरकारी निकायबाट पनि त्यसको समिक्षा हुन्छ । त्यसपछि हामी कितबाहरु हाम्रो डिजिटल प्याटफममा राख्छौँ । विद्यालयहरुले आफूलाई आवश्यक पर्ने पुस्तकहरु त्यहाँबाट अडर गर्नुहुन्छ । र, हामी पब्लिकेशनहरुले वल्र्ड भिजनको सहयोगमा विद्यालयलाई आवश्यक किताबहरु सम्बन्धीत पालिकाहरुमा पठाउँछौँ । त्यसपछि पालिकाहरुले सम्बन्धी विद्यालयमा हाम्रा पुस्तकहरु पुर्याउनु हुन्छ । अनि बालबालिकाहरुले ति किताबहरु पढ्नपाउँछन्’, उनले भने ।
किताब कुनाको अवधारण नेपालमा नौलो हुनुको साथै प्रभावकारी हुने र पठन सिप विकास हुने भएले यसको विस्तारमा पनि सरकार लाग्नु पर्ने उनको भनाई छ । यसले विद्यार्थी र विद्यालयलाई मात्र नभएर प्रकाशक र सरकारलाई पनि फाइदा पुग्ने उनको भनाइ छ । साथै कक्षा ३ सम्म मात्रै रहेको यो किताब कुनालाई कक्षागत विस्तारमा पनि जोड दिनुपर्ने उनले बताए । यो अबधारण सोनो कक्षामा भन्दा ठूलो कक्षामा अझै बढी प्रभावकारी हुने उनको भनाइ छ । त्यसलै यसको विस्तारमा जोड दिन उनि अनुरोध गर्छन् । यसरी किताब कुनाको विकासर र विस्तार भए पनि त्यसको उचित प्रयोग भने भएको छैन् ।
एक तथ्याङ्गका अनुसार सुनसरी र मोरङका आठ सय ३१ वटा मध्ये गत वर्ष तीन सय १० वटा मात्रै पुर्ण रुपमा सञ्चालनमा रहेको पाइएको छ । यस्तै दुई सय ७५ वटा विद्यालयमा सामान्य रुपमा सञ्चालनमा रहेको पाईएको छ भने दुई सय २० वटा विद्यालयका किताब कुना पुर्ण रुपमा बन्द रहेको तथ्याङ्कले स्पष्ट पार्छ । तर यो वर्ष भने त्यो तथ्याङ्कमा केहि सुधार भएको छ ।
यो वर्ष पुर्ण रुपमा सञ्चालनमा रहेका किताब कुनाको रहेका विद्यालयको संख्या बढेर पाँच सय ५३ पुगेको छ । सामन्य रुपमा सञ्चालनमा रहेका र प्रयोग नै नभएका किताब कुना रहेका विद्यालयको संख्या भने घटेर क्रमश. एक सय ८१ र ३१ पुगेको छ ।
यो सामाग्री सेफ द अर्थ र नेपाल पत्रकार महासंघ सुनसरीको सहकार्यमा आयोजना गरिएको फेलोसिप कार्यक्रम अन्तर्गत तयार गरिएको हो ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved