चैत्र महिनाको शुक्ल प्रतिपदा देखि वैशाख शुक्ल अक्षय त्रितिया सम्म १ महिना चतराधाममा पूर्ण महाकुम्भ मेला महोत्सव आयोजना हुनेछ । उक्त कुम्भ मेला आयोजना गर्ने विषयमा बुधवार कुम्भ मेला स्थल चतराधाममा कुम्भ मेलाका परिकल्पनाकार जगद गुरु बालसन्त मोहन शरण, वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की, स्थानीय वडाध्यक्ष, स्थानीय बुद्धिजीवीका बिच सुरुवाती छलफल गरिएको छ ।
छलफलबाट २०८० चैत्र २६ गतेबाट हुने कुम्भ मेलाको शुभारम्भ कालागि यही चैत्रबाट प्रचारात्मक कार्यक्रम गर्ने, माथिल्ला निकायहरूसँग समन्वय र सहयोगका लागि सहजीकरण गर्ने, नियमित सरसफाइको व्यवस्थापन गर्ने, आवश्यक भौतिक संरचना निर्माणको कामलाई तीव्रता दिने निर्णय गरिएको प्रथम जगद गुरु पीठ चतराधामका सचिव उद्भव घिमिरेले जानकारी दिए ।
मेलालाई व्यवस्थित तथा भव्य बनाउन नगरपालिकाले नेतृत्व गर्ने नगर प्रमुख रमेश कार्कीले बताए । चतराधाम कुम्भको राजधानी भएकाले यहाँ लाग्ने कुम्भ मेलाको प्रचारप्रसार र व्यवस्थापनलाई प्राथमिकताका साथ राखेर काम गर्ने कार्कीको भनाई छ। नगर प्रमुख कार्कीका अनुसार २०८० सालमा लाग्ने कुम्भ मेलाको प्रचारप्रसार गर्ने यही वर्षको चैत्र देखिनै प्रचारात्मक कार्यक्रम गरिने छ ।
कुम्भको विधान उल्लेखित हस्त लिखित पुस्तक अनुसार नै चतराधाममा कुम्भ मेलाको सुरुवात गरिएको जगद गुरु वालसन्त मोहन शरणले बताउँछन् । भारतको मध्यप्रदेशस्थित उज्जैन, प्रयाग, महाराष्ट्र स्थित नासिक र उत्तराखण्डस्थित हरिद्वारमा कुम्भ मेला लाग्दै आएका छन् । अमृतको तर नै भेटिएको पिण्डेश्वरस्थित कौशिकी (सप्तकोसी) नदीमा कुम्भ स्नान गर्नाले पापबाट मुक्त भई मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । समुन्द्र मन्थन पछि उत्पन्न अमृतमय कुम्भ घडा आफ्नो बनाउन देवता र दैत्यका बिच भएको लुछातानीको क्रममा जहाँ-जहाँ अमृत खस्यो खस्यो त्यहाँ-त्यहाँ कुम्भ पर्व लाग्ने गर्दछ ।