• चैत २८, २०८०
  • जुनकिरी खबर

'कुम्भ' को सन्देश के हो ?

alt

नेपालमा कुम्भ मेलाको जग हालिएको आज ३५ वर्ष पूरा भयो । उक्त जगमा इटा थप्न थालिएको २२ वर्ष । यो अवधिलाई तिथिले २४ वर्ष पुर्यायो । र, दोस्रो पूर्ण महाकुम्भ वराहक्षेत्रको चतराधाममा २०८० चैत्र २७ गते मंगलबारदेखि सुरुवात भयो ।
 
कुम्भ मेलाको सुरुआत २०४५/४६ सालमा पूर्व प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल, पण्डित मेघराज शर्मा, कवि मान बज्राचार्यलगायतले गरेको तथ्य पाइन्छ । सो तथ्यलाई पूर्व प्रम रिजालकी बुहारी इन्दिरा रिजालले मंगलबार महाकुम्भ मेलाको उद्घाटन सत्रमा राष्ट्रपति रामचन्द्र पौडेल र जगदगुरु बालसन्तकै अगाडि मन्चबाटै अभिव्यक्त गरिन् ।
 
यहाँ सन्दर्भ कुम्भ मेला कसले लगाउन सुरु गर्यो भन्ने होइन । यो बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाले के सन्देश दिन खोजेको हो ? भन्ने मूल विषय हो । कुम्भको पुनर्जागरण जगदगुरु बालसन्तले गरेका हुन् । जसले प्रत्येक ६ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्ण कुम्भका रुपमा निरन्तरता पाउँदै आएको छ । चर्चाको विषय कुम्भ मेला कस्तो हुनुपर्छ ? वा कुम्भको सन्देश के हो भन्ने विषय हो ।
 
कुम्भ मेला समुद्घाटनमा जे देखियो
बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला औपचारिक रुपमा हिजो मंगलबार चैत्र २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले पानसमा बत्ती बालेर समुद्घाटन गरे । त्यसको एक दिनअगाडि कुम्भ आयोजक समितिले जगदगुरु बालसन्तको नेतृत्वमा चतराबाट पिण्डेश्वर धरान हुँदै चतरासम्म कलश यात्रासहितको परिक्रमा गर्‍यो । कलश यात्रामा सहभागी हुन कुम्भका सहअध्यक्षसहित रहेका बराहक्षेत्रका नगर प्रमुख रमेश कार्कीले सर्वसाधारणमा त आह्वान गरे, उनको आह्वान प्रभावकारी भएन । चतरा बजारका सर्वसाधारणसम्म पनि उनले बोलेको भिडियो पुगेन । उनले प्रत्येक घरमा एउटा गमला र कलश राख्न आह्वान गरेका थिए । तर जानकारीको अभावमा वा किन हो चतरावासीले कलश यात्राको शोभा बढाउने विषयमा जानकार हुन सकेनन् ।
 
कलश यात्रामा मात्र जगदगुरु बालसन्त पीठका केही भक्तजन, जनप्रतिनिधि र कुम्भ समितिका पदाधिकारी उपस्थित भए । यहाँका चतुष्सम्प्रदायसहितको सामूहिक कलश यात्रा देखिएन । यो कलश यात्राले कुम्भको रोनकलाई प्रतिबिम्बित गर्न सकेन ।
 
कुम्भको उद्घाटन सत्रमा मन्चमा प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला, जगदगुरु बालसन्त, मुख्यमन्त्री केदार कार्की र जगदगुरु बालसन्तको सम्प्रदाय 'निम्बार्कचार्य' का दुईतीन धर्मगुरु बाहेक कोही देखिएनन् । जनप्रतिनिधिहरु, सांसदहरु, नगरप्रमुखहरु, उच्चपदस्थ कर्मचारीहरु मञ्चभन्दा तल देखिए । मुख्य कार्यक्रम सञ्चालकले औपचारिक कार्यक्रम सुरु गर्नुभन्दा अघि नै उनीहरुलाई यथास्थानमै आसनग्रहण गराइएको थियो । मञ्चमा आसन ग्रहण गराउन नमिल्ने  'प्रोटोकल' को नाम दिइए पनि मुख्य कुरा चतराधामका 'निम्बार्कचार्य' सम्प्रदायका साधुसन्तबाहेक अन्यलाई आमन्त्रण नै गरिएको थिएन ।
 
कुम्भ मेलाको आयोजक र अध्यक्ष स्वयम् जगदगुरु बालसन्त हुन् । यही चतराधाममा उनैले स्थापना गर्न प्रोत्साहित गरेका अन्य सम्प्रदायका जगदगुरु, पीठाधीश, मठाधीश, महामण्डलेश्वरहरुलाई कुम्भ मेलामा आतिथ्यताका लागि होस् वा धार्मिक अनुष्ठान सन्चालनका लागि निम्ता होस्, आमन्त्रण गरिएन ।
 
रामानन्दाचार्य सम्प्रदायका जगदगुरु अनन्त श्री विभूषित जगदगुरु रामानन्दाचार्य स्वामी रामकृष्णाचार्य यहीँ छन् । शङ्कराचार्य मठका ९१ वर्षीय श्री १०८ स्वामी रामेश्वर गिरीज्यू यहीँ छन् । अद्वैत संस्था संरक्षण मञ्च नेपालका वराहक्षेत्र र जनकपुरधामका पीठाधीश पुरुषोत्तमाचार्य महानन्द सरस्वती यहीँ छन् । औलिया बाबा चतरा गद्दीका कारोबारी महन्त विनायक पुरीसमेत कुम्भको औपचारिक कार्यक्रममा देखिएनन् ।
भूवराह रामानुज, बैङ्कटेश्वर मन्दिर, अर्चना बाबा धामलगायतका मठाधीशलाई कुम्भ मेलामा निमन्त्रणा नै गरिएन । खासमा यो कुम्भ मेलाले सन्देश के दिन खोजेको हो । जानकार अचम्मित छन् ।
 
निष्प्रभावी समिति
कुम्भ मेला व्यवस्थापनका लागि मूल समितिले दुई दर्जन बढी समितिहरु निर्माण गर्‍यो । तर अधिकांश  समिति बेकामे देखिए । उनीहरुले काम गर्न नसकेर होइन । मूल समितिको अव्यवस्थाका कारण तीनले काम पाएनन् । अन्तर्राष्ट्रिय, राष्ट्रिय स्तरका साधुसन्तको आमन्त्रणका लागि निर्माण भएको 'राष्ट्रिय, अन्तर्राष्ट्रिय सन्त, महन्त स्वागत तथा आवास व्यवस्थापन समिति' ले के काम गर्‍यो, कसैलाई थाहा भएन । समितिको संयोजक भेषराज घिमिरेलाई तोकिएको थियो । उनी बेपत्ता बने ।
 
आर्थिक समितिका संयोजकले 'समितिले काम गर्न नसक्ने' भएपछि राजीनामा दिए । उनका स्थानमा नयाँ संयोजक तोकियो । त्यस्तै घिमिरे सम्पर्कविहीन भएपछि सन्त महन्त स्वागत समितिको जिम्मा मनोज पौडेलले  लिए । ढिला गरी समितिको जिम्मा लिएका उनले आमन्त्रण गरिसकेका सन्त, महन्तको व्यवस्थापनमा लागे । ककसलाई आमन्त्रण गरियो/ गरिएन उनीसमेत बेखर छन् । सन्तहरुको आपसी विवाद र अनमेलको विषय 'कुम्भ' मा चर्चा गर्न बान्छनीय नहुने उनको ठहर छ । 'कुम्भ मेला' भन्ने बित्तिकै सबै सम्प्रदायको साधुसन्तहरुको उपस्थिति हुनुपर्नेमा उनी विश्वस्त छन् । तर काम भने त्यस्तो देखिएन ।
 
जगदगुरु बालसन्त बराबर वा उनीभन्दा माथिका अन्य सम्प्रदायका जगदगुरु, पीठाधीश, मठाधीशलाई किन आमन्त्रण गरिएन ? यद्यपि उनीहरु यहीँ चतराधाममा छन् ? यसको उत्तर 'समितिले जिम्मेवारी पूरा गरेन' भन्नुभन्दा अर्को कुनै उम्किने ठाउँ छैन । अथवा भन्नु पर्‍यो, कुम्भ मेलाको गरिमा राख्न सकिएन ।
 
के हो कुम्भ मेला ?
कुम्भलाई ज्ञान, वैराग्य र भक्तिको महापर्वका रूपमा लिइन्छ । यो सयौं शिविरबाट प्राप्त हुने, धार्मिक माहोलका बीच ग्रहण हुने अनुपम यज्ञ, मन्त्र, पौराणिक काव्य, प्रार्थना, साधुसन्तको उपदेश, भजन, कीर्तन, धार्मिक नृत्य–कृत्यले सुसज्जित र मनमोहक हुन्छ । अखाडाहरूको यात्रा, झाँकी, हात्तीघोडा, गीतसङ्गीत, वाद्यवादन, नागासन्तको उपस्थिति, शाहीस्नान, खेलकुद, दौड आदिले लाखौं भक्तहरूलाई आकर्षित गरिरहेको हुन्छ ।
 
यहाँ गरिब र असहायको भरणपोषण हुन्छ । धर्मसम्प्रदाय र अखाडा एकीकृत हुन्छन् । पवित्र मन र पुण्यको भावनाले भक्ति गर्न आएका भक्तहरूको आकर्षण, सङ्कट, पापमोचन, दान, गोप्यदान, पितृउद्धारलगायत पवित्रता प्राप्त गर्ने महापर्वका रूपमा रहन्छ ।
 
जसरी कुनै एउटा पसल वा दोकानलाई बजार भन्न सकिँदैन । त्यसरी नै एउटा सम्प्रदायको गतिविधि र उपस्थितिलाई मात्र 'कुम्भ' भनिंदैन/ भन्न हुँदैन । कुम्भ हुनलाई भारतमा कम्तिमा १ हजार बढी पन्थ/ सम्प्रदाय र नेपालमा न्युनत्तम १ सय बढी पन्थ/ सम्प्रदाय वा धार्मिक आस्थाहरुको उपस्थिति त हुनु पर्ला नि?
 
त्यसै पनि हाम्रो मुलुक र मुलुकवासी बहुआयामिक मान्यताको अनुसरण गर्दछौं । कर्मकाण्ड मात्र नभई हामी विभिन्न शक्ति उपासक, ध्यानी, योगी, उपकारक, उपचारक, धामी, झाँक्री, वैद्य, विजुवा, थानीलगायत १२५ बढी आदिवासी जनजातिको आआफ्नै मूल्यमान्यता, उपचार र उपकारका मौलिक पद्धति छन् । नेपालको कुम्भ मेला यी हाम्रा मौलिक पद्धतिसँग जोडिन आवश्यक छ । यी बहुआयामिक सम्प्रदाय र मान्यतालाई 'कुम्भ' ले जोड्न सकेन । हिन्दू धर्मसँग नजिकको सम्बन्ध रहेका बौद्ध र किरात धर्मकासमेत विविध धार्मिक, सांस्कृतिक मान्यता र चालचलन छन् । फरक देवता मान्नेहरुको फरक आस्था र सम्प्रदाय हुन्छ । त्यस्ता धार्मिक विधाहरुमा वैष्णव, शैव, शाक्त र स्मार्त पर्दछन् । यी सबै सम्प्रदाय र पन्थहरु एकीकृत हुन आवश्यक छ । यसरी कुम्भ एउटा सम्प्रदायमा खुम्चिने हो भने कुम्भको गरिमा मुलुकले राख्न सक्ला ? सच्चिने र सच्याउने समय घर्किएन र? 

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]