ब्रतालुहरूले बिहीबार बिहान घर, नदी, खोला, इनार, नहर वा पोखरीमा स्नानपछि अरुवा चामलको भात, रहरको दाल र तरकारी (बर्जितबाहेक) समाविष्ट शुद्ध शाकाहारी भोजन ग्रहण गरी छठ सुरु गरेका छन्। पहिलो दिनको सो कार्यलाई ‘नहाय खाय’ विधि भनिन्छ। सो विधिपछि उनीहरू दोस्रो दिन शुक्रबार साँझसम्म उपवास बस्छन्। घरका ज्येष्ठ, स्वस्थ र सक्रिय महिला सदस्यले कठिन उपवाससहित चार दिन यो पर्व मनाउँछन्। यो पर्वमा परिवारका पुरुषको सहायक भूमिका हुन्छ। प्राचीन कालदेखि परिवारको समृद्धि, सन्तान प्राप्ति, रोग एवं कष्ट निवारणका लागि छठ पूजा गरिँदै आएको छ। यो पूर्णतया शाकाहारी पर्व भएकाले ब्रतालु एवं परिवारजनले तिहार सकिएलगत्तै माछामासु खान छाड्छन्।
सूर्य उपासनाको यो पर्वमा घरदेखि जलाशय किनारसम्म दीपावलीझैं माहोल हुन्छ। यो जल, जीवन र सम्पूर्ण ऊर्जाको स्रोत सूर्यबीचको सम्बन्ध झल्काउने असीम श्रद्धाको पर्व हो। सबै जाति, धर्म, वर्ग र लिंगका मानिसले पूजा गर्न सक्ने हुनाले यो सामाजिक सद्भावको अद्भूत धार्मिक एवं सांस्कृतिक उत्सव हो। दोस्रो दिन (शुक्रबार साँझ) चोख्याइएको एक कोठामा खिर र केरालगायत मीठा पकवान केराको पातमा फिँजाएर ईश्वरको आराधना गरिन्छ। ‘खरना’ भनिने यो अनुष्ठानपछि पहिले ब्रतालुले प्रसाद ग्रहण गर्छन्। त्यसपछि पूजनस्थलवरिपरि प्रसादको प्रतीक्षामा रहेका परिवारजन एवं छरछिमेकलाई बाँड्छन्। घरभित्रै दुईदिने आन्तरिक विधिपछि दीपावलीझैं झिलिमिली पारिएको जलाशय किनारमा शनिबार साँझ (सँझिया घाट) र आइतबार बिहान (भोरका घाट) ठेकुवा, भुसुवा, नरिवल तथा भोगटेलगायत मौसमी फलफूल एवं तरकारीसहित सूर्यलाई अघ्र्य दिएपछि पर्वको समापन हुन्छ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved