• असार १७, २०८३
  • जुनकिरी खबर

विराटनगरको आर्यान न्यूरो अस्पताल : हेलचेक्राईको कारण बिरामीको हात भाँचियो

alt

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेपालमाथि उपचारका क्रममा गम्भीर चिकित्सकीय लापरबाही, आर्थिक शोषण तथा अमानवीय व्यवहार गरेको आरोप लागेको छ। बिरामी कृषल ओझाकी आमा लक्ष्मीकुमारी अधिकारीले पत्रकार सम्मेलनमार्फत अस्पताल प्रशासन र उपचारमा संलग्न चिकित्सकविरुद्ध गम्भीर आरोप सार्वजनिक गरेकी हुन्।

अधिकारीका अनुसार उनका २० वर्षीय छोरा कृषल ओझा गत फागुन २४ गते सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित सेउती पुल नजिक मोटरसाइकल दुर्घटनामा परेका थिए। दुर्घटनापछि उनलाई तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका लागि भर्ना गरिएको थियो। उपचारका क्रममा फागुन २५ गते टाउकोको शल्यक्रिया गरिएको र त्यसपछि संक्रमण देखिएपछि चैत १७ गते पुनः शल्यक्रिया गरिएको बताइएको छ।

करीब एक महिनाभन्दा बढी समय धरानमा उपचार गराएपछि परिवारले बिराटनगरमा उपचार गराउन सहज हुने भन्दै चिकित्सकहरूको सल्लाहमा चैत २५ गते आर्यान न्यूरो अस्पतालमा सारेको जनाएको छ। अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेपालले बिरामीलाई राम्रो उपचार गर्ने आश्वासन दिएका कारण धरानबाट डिस्चार्ज गरेर विराटनगर ल्याइएको परिवारको भनाइ छ।

परिवारका अनुसार आर्यान न्यूरो अस्पतालमा भर्ना भएपछि बिरामीको टाउकोमा पानी जमेको भन्दै ‘भिपी शन्ट’ (VP Shunt) राख्नुपर्ने जानकारी दिइएको थियो। उक्त शल्यक्रियाका लागि सुरुआतमा करिब दुई लाख रुपैयाँ खर्च लाग्ने भनिए पनि पछि छुट दिएर डेढ लाख रुपैयाँमा उपचार गरिने बताइएको र सोही अनुसार रकम भुक्तानी गरिएको अधिकारीले बताइन्।

शल्यक्रियापछि केही दिन बिरामीलाई आईसीयू र स्टेप डाउन युनिट (एसडीयू) मा राखिएको थियो। तर केही समयपछि राखिएको भिपी शन्टले काम नगरेको भन्दै पटक–पटक बिरामीको ढाडबाट पानी निकाल्ने कार्य गरिएको र परीक्षणका लागि नमुना पठाउने गरिएको आरोप छ। त्यसपछि पुनः अर्को भिपी शन्ट राख्नुपर्ने भन्दै थप एक लाख रुपैयाँ लिइएको परिवारको दाबी छ।

यसैबीच अस्पतालमा उपचाररत रहँदा फिजियोथेरापीका क्रममा गम्भीर लापरबाही भएको आरोप पनि लगाइएको छ। अधिकारीका अनुसार अस्पतालका फिजियोथेरापिस्ट शैलेन्द्र कुमार साहले चिकित्सकको निर्देशनपछि अत्यधिक बल प्रयोग गरी हातखुट्टा चलाउने अभ्यास गराउँदा बिरामीको दाहिने हात भाँचिएको थियो।

उनका अनुसार जेठ २५ गते गरिएको फिजियोथेरापीका क्रममा अस्वाभाविक रूपमा बल प्रयोग गरिएको देखिएपछि आफू र आफ्नी आमाले आपत्ति जनाएका थिए। तर फिजियोथेरापिस्टले कुनै समस्या नहुने भन्दै उपचार जारी राखेका थिए। त्यसै रात बिरामीको हात सुन्निएपछि अर्को दिन एक्स–रे गर्दा हात दुई टुक्रा भएको अवस्थामा भाँचिएको देखिएको परिवारको दाबी छ।

घटनापछि अस्पताल प्रशासन र चिकित्सकसँग छलफल गर्दा जिम्मेवारी स्वीकार नगरी हात पहिले नै भाँचिएको हुनसक्ने तर्क गरिएको परिवारले जनाएको छ। डा. पंकज राज नेपालले धरानमा उपचारकै क्रममा हात भाँचिएको हुनसक्ने दाबी गरेको आरोप लगाइएको छ।

तर उक्त दाबीलाई परिवारले अस्वीकार गरेको छ। उनीहरूले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा संलग्न चिकित्सकहरूसँग सम्पर्क गर्दा त्यहाँ उपचार अवधिभर हात भाँचिएको कुनै अभिलेख नभएको जानकारी प्राप्त भएको बताएका छन्। धरानका न्यूरो सर्जन डा. प्रकाशचन्द्र अधिकारीले समेत अस्पताल बसाइका क्रममा हात भाँचिएको कुनै जानकारी नभएको सन्देश पठाएको परिवारको दाबी छ।

परिवारले अर्को प्रश्न पनि उठाएको छ। यदि हात दुर्घटनाकै समयमा वा धरानमै भाँचिएको भए दुई महिनाभन्दा बढी समयसम्म फिजियोथेरापी गर्दा कुनै समस्या नदेखिनु र अचानक एकैदिन सुन्निएर दुई टुक्रा भएको अवस्था देखिनु अस्वाभाविक रहेको उनीहरूको भनाइ छ।

हात भाँचिएको पुष्टि भएपछि पनि अस्पतालले उचित उपचार नगरेको आरोप लगाइएको छ। पछि नोबेल शिक्षण अस्पताल विराटनगरमा लगेर परीक्षण गराउँदा यो नयाँ फ्र्याक्चर भएको र हातमा गरिएको प्लास्टरसमेत उचित नरहेको चिकित्सकहरूले जानकारी दिएको परिवारले जनाएको छ।

अस्पतालले उपचारमा लापरबाही गरेको मात्र नभई जिम्मेवारीबाट पन्छिन खोजेको आरोप पनि परिवारले लगाएको छ। उनीहरूका अनुसार पटक–पटक छलफल हुँदा अस्पताल प्रशासनले आफ्नो गल्ती स्वीकार नगरेको र बिरामीलाई थप उपचार दिन अनिच्छुक देखिएको थियो। अन्ततः वातावरण असहज बनाउँदै अस्पतालबाट डिस्चार्ज हुन बाध्य पारिएको आरोप छ।

जेठ ३० गते बिरामीलाई नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ गरिएको परीक्षणमा आर्यान न्यूरो अस्पतालमा राखिएको भिपी शन्टको जडान नै छुट्टिएको अवस्थामा फेला परेको परिवारको दाबी छ। पुनः शल्यक्रिया गर्दा निकालिएको शन्टमा कमसल सामग्री प्रयोग गरिएको तथा धागोले बाँधेर जडान गरिएको देखिएको उनीहरूको आरोप छ।

परिवारले उपचारका नाममा करिब १८ लाख रुपैयाँ खर्च भएको जनाएको छ। एकल आमाका रूपमा छोरा हुर्काउँदै आएकी लक्ष्मीकुमारी अधिकारीले ऋणधन गरेर उपचार गराउँदा पनि उल्टै आर्थिक, मानसिक र शारीरिक पीडा भोग्नुपरेको बताइन्।

उनले अस्पतालमा महँगो औषधि किनाउन बाध्य बनाइएको, उपचार खर्च मनपरी बढाइएको तथा बिरामीको अवस्थालाई आधार बनाएर आर्थिक शोषण गरिएको आरोप लगाइन्। साथै अस्पतालका वार्डहरूमा अत्यधिक गर्मी हुँदा पनि वातानुकूलित सेवा सञ्चालन नगरी बिरामीलाई कष्टकर वातावरणमा राखिएको दाबी समेत गरिएको छ।

घटनापछि परिवारले जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दर्ता गराएको जनाएको छ। प्रशासनले आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङलाई पत्राचार गरे पनि हालसम्म प्रभावकारी अनुसन्धान अघि नबढेको उनीहरूको गुनासो छ। प्रहरी प्रशासनले प्राविधिक विषय भएको भन्दै नेपाल मेडिकल काउन्सिलमा उजुरी दिन सुझाव दिएको परिवारले जनाएको छ।

यसैबीच पीडित पक्षले नेपाल मेडिकल काउन्सिलमा समेत औपचारिक उजुरी दर्ता गरिसकेको जनाएको छ। उक्त उजुरी हाल अनुसन्धान प्रक्रियामा रहेको जानकारी दिइएको छ।

पत्रकार सम्मेलनमा बोल्दै लक्ष्मीकुमारी अधिकारीले अस्पतालहरू उपचारको पवित्र केन्द्र हुनुपर्नेमा केही संस्थाहरू नाफामुखी व्यवसायमा परिणत भएको आरोप लगाइन्। उनले आफ्नो परिवारले भोगेको पीडा अन्य कुनै नागरिकले भोग्न नपरोस् भन्ने उद्देश्यले सार्वजनिक रूपमा आवाज उठाएको बताइन्।

उनले सम्बन्धित निकाय, स्वास्थ्य क्षेत्रका नियामक संस्था तथा सञ्चारमाध्यमलाई घटनाको निष्पक्ष छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न आग्रह गरेकी छन्। साथै दोषी ठहर हुने व्यक्ति वा संस्थामाथि कानुनी कारबाही गरी पीडित परिवारलाई न्याय दिलाउन सरकार र सम्बन्धित निकायसँग माग गरेकी छन्।

उक्त आरोपबारे आर्यान न्यूरो अस्पताल तथा आरोपित चिकित्सकहरूको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक हुन बाँकी रहेको छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]