दिनहुँ संक्रमित बढिरहेको प्रदेश १ अब परीक्षणको क्रम अझ बढाइने भएको छ । मुख्यमन्त्री शेरधन राईले दैनिक एक हजारको संख्यामा पीसीआर परीक्षण गर्ने तयारी भइरहेको बताएका छन् ।
परीक्षणका लागि थप दुईवटा पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइने उनको भनाइ छ । हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरस्थित कोसी अस्पताल र प्रादेशिक प्रयोगशालामा पीसीआर विधिबाट शंकास्पद संक्रमितको स्वाब नमुना परीक्षण भइरहेको छ । परीक्षणको दायरा बढाउँदा संक्रमितहरुको संख्या बढिरहेको उनको भनाइ छ ।
प्रदेशभर बिहीबारसम्म पीसीआर विधिबाट चार हजार जनाको परीक्षण भइसकेको मुख्यमन्त्री राईले बताए । भिडियो सन्देशमार्फत उनले दिएको जानकारीअनुसार आरडीटी विधिबाट १० हजारभन्दा बढीको परीक्षण गरिएको छ ।
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकार गम्भीरतासाथ लागिरहेको मुख्यमन्त्री राईले बताएका छन् । उनले लकडाउनको पालना गर्न आग्रह गर्दै संक्रमण फैलन नदिन सबैले जिम्मेवार हुनुपर्ने बताए । दिनहुँ संक्रमण बढ्दै जाँदा त्रास फैलिएको हुन सक्ने भन्दै यो बेला सबैले सुरक्षित भएर घरमै बस्न उनले आग्रह गरेका छन् ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved