धरानमा पनि कोरोना समुदाय स्तरमै सङ्क्रमण भएको हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउँदै भोलि शुक्रवार देखि लागु हुने गरी अत्यावश्यक पसल बाहेक अरू पसल बिहान ९ बजे देखि ५ बजे सम्म मात्रै खुल्ला हुने भएको छ ।
धरान उपमहानगरपालिकामा आज बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेल, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापा, धरानका विभिन्न राजनीतिक दलका प्रतिनिधि, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, धरानका सुरक्षा प्रमुखहरूको उपस्थितिमा भएको बैठकले यस्तो निर्णय गरेको हो ।
अत्यावश्यक वस्तुअन्तर्गत खाद्यान्न, तरकारी र औषधीको पसल सधैँ खुल्ला गर्ने र अन्यलाई बिहान ९ बजेदेखि ५ बजेसम्म मात्र खोल्न दिइने निर्णय सर्वदलीय बैठकले गरेको हो ।
यसै गरी कोरोना सङ्क्रमित बिरामी बोक्ने एम्बुलेन्स र सङ्क्रमणबाट मृत्यु भएका मृतक बोक्ने शव वाहन व्यवस्थापनका लागि भोलि बिहान ११ बजे पुनः बैठक बसेर निर्णय गरिने धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताए । आज साँझ सम्ममा सर्वदलीय बैठकले निर्णय गरिएको विषयमा जानकारी दिँदै माइकिङ गर्ने र धरान प्रवेश गर्ने सबै नाकामा उच्च सतर्कता अपनाइने बताइएको छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved