सुनसरी प्रशासनमा आज जंगली हात्ती मकुना मार्ने विषयमा छलफल हुँदैछ । मकुनाको आतंक बढेको निष्कर्शमा पुगेको सुनसरी प्रशासनले सो विषयमा आज सरोकारवालासँग छलफल गर्न लाग्दै छ ।स्थानीय प्रशासन ऐनलाई टेकेर प्रजिअले हिंश्रक हात्ती मार्ने उपरको विषयमा छलफल थालेका छन् । स्थानीय प्रशासन ऐनमा स्थानीय गाउँपालिका, नगरपालिकाले प्रतिवेदन गरेमा सिडियोले जटिलता बुझी महसुस भए कानुनी आधारमा रहेर हिंस्रक जनावरलाई गोली ठोक्न सक्ने अधिकार प्रत्यायोजन गरेको छ ।
हात्ती मार्ने विषयमा छलफल थालिएको विषयलाई स्वयं प्रजिअ फणिन्द्रमणि पोखरेलले स्विकारेका छन् । उनले ऐन नियमको परिधि भित्र रही आवश्यक निर्णय लिन सकिने बताए ।
पछिल्लो एक डेढ वर्षको अवधिमा मकुना मात्रैले ९ जनाको ज्यान लिएको बताउने सुनसरी प्रशासनले जनताको जिउधनको सुरक्षाको लागि हात्ती मार्न सकिने सम्मको विषयमा छलफल थालिएको बताएको छ । प्रजिअ पोखरेलका अनुसार स्थानीयले लामो समयदेखि मकुना हात्तीको आतंक सहदै आएका छन् । जनधनको क्षति समेत बढ्दै गएको छ ।प्रशासन भन्छ, हात्तीलाई लठ्याएर नियन्त्रणमा लिने देखि अन्य सबै प्रकृया अपनाइएको छ । यद्यपि मकुनाको आक्रमण रोकिएको छैन् । त्यसैले जटिल समस्याका रुपमा देखिएको हात्तीको आक्रमण रोक्न उसलाई मार्ने बारेमा छलफल अघि बढाइएको हो । कोशी टप्पु बन्यजन्तु आरक्षको कार्यालयसँग समेत समन्वय भएको बताउने प्रजिअ पोखरेलले आरक्षबाट समेत सकारात्मक प्रतिकृया प्राप्त भएको बताए ।उता आरक्षका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले पीडित पक्ष, गाउँपालिकाको कार्यालयका साथै स्थानीय प्रशासन र सरोकारवालासँग मिलेर ठोस रणनीतिका साथ अघि बढ्न आरक्षको कार्यालय तयार रहेको बताएका छन् ।
उनले ऐन नियमको परिधि भित्र रहेर जनताको जिउज्यानको सुरक्षा लगायतको सवालमा अघि बढ्न आरक्षको कार्यालय तयार रहेको बताए । चौधरीले हात्ती आतंकको विषयमा बिभागमा यसअघिनै पत्र लेखिसकेको बताए । उनले जंगली जनावरलाई नियन्त्रणमा लिई खुट्टामा चेन लगाउने वा के गर्ने भन्ने विषय यकिन भने भैनसकेको बताए ।मकुना हात्तीको आक्रमणबाट हिजो हरिपुरमा स्थानीयको मृत्यु भएपछि गाउँले आन्दोलित बनेका छन् । उनीहरुले मकुना मार्नु पर्ने आवाज उठाएका छन् । दीर्घकालीन समाधान नभएको भन्दै मृतकको परिवारले शवको पोष्टमाटम समेत गरेको छैनन् । सोही यावत विषयमा आज स्थानीय पीडित, मृतकको परिवार, गाउँपालिका र प्रशासन सहित सरोकारवालाको बैठक बस्दै छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा १० को उपदभा (क)मा बौलाएको जंगली जनावर तोकिएको अधिकारीको आदेशमा मार्न, वा पक्रन सकिने उल्लेख छ । तर कोशी टप्पुको मकुना बौलाएको पुष्टि गर्ने आधिकारिक आधार भने फेला परेको छैन् । पछिल्लो तीन वर्षको अवधिमा कोशी टप्पु आसपासका क्षेत्रमा हात्तीको आक्रमणमा परी २३ जनाले ज्यान गुमाएका छन् ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved