नेपाल आयल निगमले चार महिनादेखि पेट्रोलियम पदार्थको मूल्य लगातार वृद्धि गर्दै आएको छ । तर, मूल्यवृद्धिको विरोधमा कोही बोल्न सकिरहेका छैनन् ।
पेट्रोलियम पदार्थमा मात्र नभई अन्य दैनिक उपभोग्य वस्तुमा कालोबजारी तथा विकृति बढ्दै गइरहेको छ । कालोेबजारी विरुद्ध विरोध गर्ने विरासत बोकेका विद्यार्थी सङ्गठन पनि अहिले चुइँक्क बोल्न सकेका छैनन् ।
इण्डियन आयल कर्पोरेशनको फेब्रुअरी २०२१ को मूल्यअनुसार नेपाल आयल निगमले २०७७ चैत ४ गतेदेखि मूल्य वृद्धि गर्दै नयाँ मूल्य कायम गरेको छ । निगमले महिनामा २ पटक मूल्य वृद्धि गर्दै आएको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य समायोजन कार्यविधि २०७१ अनुसार मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निगमले पेट्रोल, डिजेल, मट्टितेल तथा आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको छ । मूल्य समायोजन भएर वृद्धि भएपछि पेट्रोलको प्रतिलिटर मूल्य १ सय १६ रुपैयाँ कायम भएको छ । डिजेल र मट्टितेलको प्रतिलिटर ९९ रुपैयाँ ५० पैसा कायम भएको छ । एलपी ग्यासको मूल्य समायोजन गरिएको छैन ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved