कमजोर अवस्थामा रहे पनि ‘यास चक्रवात’ को प्रभाव नेपालमा निरन्तर जारी छ । भारतको उडिसा र पश्चिम बंगाल राज्यमा सबैभन्दा बढी प्रभाव पारेको ‘यास’ ले नेपालमा भने निरन्तर वर्षा भइरहेको छ ।
नेपाल भूपरिवेष्ठित देश भएका कारणले पनि ‘यास’ चक्रवातबाट प्रत्यक्ष प्रभावित हुन नसके पनि मौसममा आएको बद्लावले नेपाललाई असर गरिरहेको हो । दुई दिनदेखि कालो बादलसहित वर्षा भइरहेको छ । निरन्तर वर्षा भएमा बाढी पहिरो जाने सम्भावना बढ्न सक्छ । बाढी आएमा खेतीयोग्य जमिनहरू काटिने र क्षति हुने अनुमान गरिएको छ । चट्याङ, हावाहुरी र मेघगर्जनसहितको वर्षा आएमा त्यसले गम्भीर असर गर्ने जनाइएको छ ।
भारतको उडिसा र बंगाल राज्यमा मानवीयसँगै भौतिक क्षति भएको थियो । यास चक्रवातलाई भारतमा निकै विनासकारी मानिएको छ । प्रतिघण्टा १२० देखि १४० किलोमिटर रफ्तारमा चक्रवात आएको मानिन्छ । पश्चिम बंगाल प्रशासनका अनुसार १५ लाख मानिस प्रभावित बनेका छन् । चक्रवातका कारण एकजनाको ज्यान गएको छ । पश्चिम बंगालका मुख्यमन्त्री ममता वेनर्जीका अनुसार ३ लाख घरमा क्षति पुगेको छ । बंगालको १३४ वटा तटबन्धमा क्षति पुर्याएको छ ।
विशेष गरी त्यहाँको कृषि, मत्स्यपालन, पशुपालन, विद्युत् र बागवानी बढी क्षति पुर्याएको छ । चक्रवातका कारण समुन्द्रका पानी गाउँगाउँमा छिर्दा अहिले बाढीको जोखिम पनि उस्तै रहेको छ । सोही यास चक्रवातका कारण नेपालमा दुई दिनदेखि निरन्तर वर्षा भइरहेको छ । नेपालको मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले सचेत रहन आग्रह गरिसकेको छ । नेपालमा प्रदेश १, २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको थियो ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved