• साउन ११, २०७६
  • जुनकिरी खबर

निर्मला हत्या प्रकरण : आधा दर्जन मुद्दा, मुख्य घटना ओझेलमा

alt

१३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार वर्षदिन पुग्यो । एक वर्षसम्म पनि अपराधी पत्ता लाग्न सकेको छैन । दोषी पत्ता लगाउन विभिन्न किसिमले अनुसन्धान चलिरहेको सरकारले दाबी गरिरहेकै छ । कसुरदार प्रस्ट नभइसक्दा घटनासँग जोडिएर अदालतमा झन्डै आधा दर्जन मुद्दा परिसकेका छन् । कतिपयले यसलाई घटना अन्तै मोडिन लागेको हो कि भन्ने शंका पनि गरेका छन् । 

अहिले जिल्ला अदालत कञ्चनपुरमा तत्कालीन प्रहरी प्रमुखसहितका नाममा सार्वजनिक न्यायविरुद्ध र यातना कसुरमा दुइटा मुद्दा विचाराधीन छन् । निर्मलाकी आमा दुर्गादेवीले तत्कालीन एसपी डिल्ली विष्टसहित ८ जनाका नाममा प्रमाण नष्ट गरेको आरोपमा सार्वजनिक न्यायविरुद्धको कसुरमा जाहेरी दिएकी हुन् । उनकै जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयले मुद्दा दायर गरेको हो ।

प्रहरीले मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेर कञ्चनपुरको भीमदत्त–१९ बाग्फाँटाका दिलीप विष्टलाई यातना दिएको थियो । दिलीपका दाजु खड्कले यातना कसुरमा तत्कालीन एसपी विष्टसहित ४ जनाविरुद्ध जाहेरी दिएपछि त्यो मुद्दा पनि अदालतमा छ । आरोपी सबै प्रहरी धरौटीमा छुटिसकेका छन् ।
यससँगै एसपी डिल्ली विष्टका छोरा किरणले पनि पत्रकार खेम भण्डारीविरुद्ध जिल्ला अदालतमा गाली/बेइज्जतीसम्बन्धी मुद्दा दिएका छन् । उक्त मुद्दालाई सार्वजनिक न्यायविरुद्धकै मुद्दासँग लगत कायम गरिएको छ । अधिवक्ता विनोद भट्टले पनि पत्रकार भण्डारीविरुद्ध नै प्रतिष्ठाविरुद्धको कसुरमा अदालतमा मुद्दा दिएका छन् । उक्त मुद्दालाई पनि सार्वजनिक न्यायविरुद्धको मुद्दा साथै राखी कार्यान्वयन गर्ने आदेश भएको छ ।
यातना र प्रमाण नष्टको मुद्दामा अदालतले मागेको एमिकस क्युरीको विषयमा अदालतको मानहानि हुने गरी समाचार र फेसबुक पोस्टमा लेखेको ठहर गर्दै अदालतले पत्रकार भण्डारीलाई क्षमायाचना वा १ घण्टा कैद र १ रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । यो घटना पनि अप्रत्यक्ष रूपमा निर्मलासँगै जोडिएको छ ।
‘मुख्य कुरा अपराधी पत्ता लगाउने हो, सबैले चाहेको पनि त्यही हो,’ नागरिक समाजका पूर्वअध्यक्ष तथा निर्मलाका हत्यारा पत्ता लगाउन गठित नागरिक संघर्ष समितिका सदस्य नरबहादुर साउदले भने, ‘तर अहिले त मुख्य कुरा ओझेलमा पर्ने गरी व्यक्तिगत चाहनाका आधारमा धमाधम मुद्दा पर्न थाले ।’ यसले अपराधी पत्ता लगाउनैपर्ने मूल विषय ओझेलमा पर्न सक्ने उनले बताए ।
पछिल्लो समय निर्मला प्रकरणलाई जोडेर व्यक्तिगत चाहनाका आधारमा समेत मुद्दा पर्न थालेको उनको बुझाइ छ । सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोगले बुझाएको प्रतिवेदनका आधारमा अनुसन्धान अझै पनि हुन नसकेको साउद बताउँछन् । ‘प्रतिवेदन कार्यान्वयन हुने हो भने अपराधी तत्काल पत्ता लाग्छ,’ उनले भने, ‘विभिन्न पक्षबाट घटनालाई अन्तै मोडन खोजिएजस्तो भएको छ ।’
निर्मलाकी आमा दुर्गादेवीलाई पनि अहिले अदालतमा एकपछि अर्को गरी धमाधम मुद्दा परिरहेका घटना अन्तै मोडिन लागेको जस्तो लागेको छ । ‘हामीले त सुरुदेखि नै हत्यारा पत्ता लगाएर न्याय चाहियो भनेका छौं । अहिले पनि त्यही भनिरहेका छौं,’ उनी भन्छिन्, ‘अहिले अपराधी पत्ता लाग्ने कुरा एकातिर छ तर एकपछि अर्कोगरी मुद्दा परिरहेका छन् ।’ उनले प्रमाण नष्टको आरोपमा ८ जना प्रहरीविरुद्ध जाहेरी दिएपछि पनि अदालतमा आफ्नो मनसाय प्रहरीलाई कारबाही गराउनेभन्दा पनि अपराधी पत्ता लागोस् भन्ने नै भएको भन्दै इजलासमै लिखित पत्र बुझाएकी थिइन् ।
गतवर्षको साउन–भदौमा दोषी पत्ता लगाउन दबाब दिने आन्दोलनमा होमिएका अधिकारकर्मी र निर्मलाका आफन्तजनको गतिविधि भने यतिबेला देखिन छाडेको छ । महेन्द्रनगर बजारको मदन चोकमा शुक्रबार साँझ निर्मलाको सम्झनामा दीप प्रज्वलन कार्यक्रम गरिएको छ । भेला भएकाहरूले निर्मलालाई सम्झँदै मैनबत्ती बाले । स्थानीय हेमराज जोशीले भने, ‘धेरैपटक उनको स्मृतिमा यही चोकमा मोमबत्ती बाल्दै आयौं, अपराधी पत्ता लागे मात्रै उनको आत्माले शान्ति पाउँछ भन्ने हामीलाई लाग्छ ।’

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]