यातायात व्यवस्था कार्यालय इटहरीले लकडाउनकै बीचमा कार्यालय सार्ने तयारी गरेपछि ड्राइभिङ व्यवसायीहरुले आपत्ति जनाएका छन् ।
शनिबार इटहरीमा ड्राईभिङ स्कुल संघ प्रदेश १ ले पत्रकार सम्मेलन गर्दै यातायात कार्यालय सेटिङमा सार्न लागिएको र सो क्रममा आफूहरुसँग सल्लाह नगरिएको भन्दै आपत्ति जनाएको हो ।
संघका प्रदेश नं। १ अध्यक्ष बाबुराम प्रधानले पटक पटक कार्यालय सारिनु आपत्तिको विषय रहेको बताए । उनले राज्यको अनावश्यक खर्च बढ्नुका साथै कार्यालयको काममा आश्रित व्यवसायीहरुको हितलाई ध्यान नदिएको गुनासो गरे ।
उनीहरूले नवीकरण झन्झटिलो बनाइएको र पटकपटक नियम परिवर्तन गरेर व्यवसायीहरुलाई दुःख दिने काम गरिएको पनि गुनासो गरेका छन् ।
यातायात कार्यालयको इटहरी १० मा आफ्नै भवन बन्दैछ । तर, कार्यालयले भाडाको घर खोजेर सूचना जारी गरेको छ । पहिलै भवन खोजेर त्यही अनुसारको सूचना प्रकाशित गरी त्यही घरबाहेक कुनै छनोट हुन नसक्ने गरी सेटिङ गरिएको विषय बाहिरिएपछि व्यवसायीहरुले आपत्ती जनाएका छन् ।
कार्यालयको आफ्नै निर्माणाधीन भवन यही पुस महिनाभित्र निर्माण सम्पन्न गर्ने जिम्मा पाएको ठेकेदार कम्पनीले समयमा काम नसकेको र अहिले बसिरहेको कार्यालय भवन पनि सडक विस्तारले साघुरिएको भन्दै एक वर्षको लागि सार्ने तयारी गरेको थियो । तर घर खोज्दै जारी गरिएको सूचनामा राखिएका प्रावधानले सेटिङमा घर सार्न लागिएको प्रमाणित गरेको थियो । सो विषयमा सप्रमाण समाचार सार्वजनिक भइसक्दा पनि प्रदेश मन्त्रालयले वास्ता नगरेपछि मन्त्रालय र ठेकेदारसम्म नै आर्थिक चलखेलमा संलग्न हुनसक्ने व्यवसायीहरुको शंका छ ।
यातायात कार्यालयका क्षेत्रीय निर्देशक भीम गौतम र कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटाको विशेष चासोमा इटहरी ८ स्थित रोहित चौधरीको जग्गामा निर्माणाधीन भवनलाई नै ठेक्का पर्ने गरी सूचना जारी गरी सेटिङ गरेको विषय बाहिरिएको हो ।
सडक विस्तारले अहिले कार्यालय रहेको भवनलाई केही साघुरो बनाएपनि एक वर्षकै लागि सरीहल्नुपर्ने अवस्था नरहेको व्यवसायीहरुको दावी छ । संघका सुनसरी मोरङ अध्यक्ष शिव श्रेष्ठका अनुसार अहिले रहेको कार्यालयको कम्पाउण्ड भित्र ठाउँ रहेकोले उपयोग गर्न सकिने बताउँछन् ।
कमिसनको लोभमा पटक पटक कार्यालय सार्ने चलखेल भएको भन्दै व्यवसायीहरुले प्रदेश १ सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री अमिरबाबु गुरुङसहित जिल्ला प्रशासन सुनसरी र अख्तियार इटहरीमा उजुरी समेत गरिसकेका छन् । भाडाको घरमा सार्दा पनि व्यवस्थित गर्न केही महिना लाग्ने हुँदा आफ्नै बन्दै गरेको भवन को काम डबल शिफ्टमा काम लगाएर चाडो सकेर सार्नु उपयुक्त हुने बताएका छन् ।
यसैबीच कार्यालय सार्ने चलखेलको विषयमा समाचार बाहिरिएपछि कार्यालयले आफु पक्षमा प्रमाण जुटाउन पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, नयाँ भवन निर्माणको जिम्मा पाएको हनुमान कन्स्ट्रक्सन लगायतबाट पत्र मगाएको छ । पत्रमा उक्त कार्यालय नसार्दा दुर्घटना बढेको जिकिर ट्राफिक कार्यालयले गरेको छ भने नया भवन डेढ वर्ष अघि बनि नसक्ने दावी ठेकेदार कम्पनीले गरेको छ । कार्यालय खोज्दै सूचना जारी गर्नु अघि नै पाउनुपर्ने पत्रहरू कार्यालय सार्ने औचित्य पुष्टि गर्ने सम्बन्धित कार्यालयलाई प्रभावमा पारेर तयार गर्न लगाएको अनुमान गरिएको छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved