प्रदेश १ मा नयाँ भर्ना भएका ६७१ जना प्रहरी जवान मंगलबार दीक्षित भएका छन्। रानीस्थित प्रदेश तालिम केन्द्र विराटनगरमा दीक्षान्त समारोहको आयोजना गरेर प्रहरी जवान १३८औँ समूहको आधारभूत तालिम सम्पन्न गरेकाहरुलाई दीक्षित गरिएको हो। दीक्षित हुनेमा १३३ महिला छन्।
२०७७ मंसिर ३ गतेदेखि सञ्चालन तालिमअन्तर्गत विराटनगरको तालिम केन्द्रमा ४८०, प्रदेश १ सशस्त्र प्रहरी गण रानीमा ९६ र दंगा नियन्त्रण प्रहरी गण दुहवीमा ९५ जना प्रशिक्षार्थीलाई प्रशिक्षण दिइएको थियो।
दीक्षित हुनेहरुलाई तालिम केन्द्रकी समादेशक प्रहरी बरिष्ठ उपरीक्षक मीरा चौधरीले नेपालको संविधान बमोजिम शपथग्रहण गराइन्। दीक्षित भएका प्रहरी जवानलाई शुभकामना दिँदै प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणकुमार बिसीले इमान्दार बनेर निष्ठापूर्वक उच्च मनोबलका साथ कार्य क्षेत्रमा खटिँदै मन, बचन र कर्मले जनताको सेवामा लाग्न निर्देशन दिए।
डीआईजी बीसीले तालिममा सुरक्षा, प्रहरीको कामकर्तव्य तथा अपराध नियन्त्रण, अपराध अनुसन्धान र विद्यामान कानुन एवं प्रहरी युक्ति तथा कारबाही लगायतका विषयमा प्रहरी जवानहरुलाई प्रशिक्षण दिइएको बताए। समारोहमा तालिम अवधिभर लिइएको चरणगत परीक्षामा सर्वोत्कृष्ट हुने प्रहरी जवान उत्तमकुमार मगर लगायत विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने ८ जनालाई पुरस्कृत गरिएको छ।
उनीहरुलाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्दै डीआईजी बिसीले सिकाइको स्तरलाई थप परिस्कृत गरेर लैजान शुझाव दिए। दीक्षित प्रहरीले समाज र संगठनको अपेक्षाअनुरुप सेवा गर्ने उनको विश्वास छ। दीक्षित प्रहरीलाई अब आआफ्नो कार्यक्षेत्रमा खटाइने बीसीले बताए।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved