ठूलो परिणामको लागुऔषध गाँजासहित प्रहरीले सुनसरीबाट ३ जना भारतीय नागरिकलाई शनिबार राति पक्राउ गरेको छ । भारत बिहारको कटहरिया जिल्ला देवीपुर–१० का ५० वर्षीय जितेन्द्र राय, देवीपुर–१९ का २६ वर्षीय मिट्ठु राय र पूर्णिया जिल्ला सारसी–३ का १९ वर्षीय पंकज महलदार पक्राउ परेका हुन् ।
सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार पक्राउ परेकाहरुको साथबाट १ सय किलोग्राम गाँजा बरामद भएको छ । नेपालबाट भारततिर अवैध रूपले लैजान खोज्दै गरेको १ सय किलो गाँजासहित तीनैजनालाई सुनसरीको बर्जु गाउँपालिका–५ बाट पक्राउ गरिएको उनले बताए ।
पक्राउ परेका तीनैजनाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आइतबार अदालतबाट म्याद थप गरेर बाँकी अनुसन्धान अघि बढाइएको जानकारी एसपी थापाले दिए । नेपालका पहाडी जिल्लामा उत्पादन हुने गाँजा अवैध तरिकाले भारत लैजाने गरिएको प्रहरीले जनाएको छ ।
नेपालमा प्रति किलोग्राम २० हजार रूपैयाँभन्दा बढीमा किनबेच हुने गाँजा भारत पुर्याउँदा दोब्बर मूल्य पाइने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दोब्बरभन्दा बढी मूल्य पाइने भएकाले लागूऔषधका कारोबारीले सुरक्षाकर्मीलाई छलेर सीमा नाकाबाट कटाएर गाँजा भारत पुर्याउने गरेको प्रहरीको भनाइ छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved