सुनसरी । नेकपा एमाले तथा जसपा नेपालको संयुक्त उम्मेदवार परशुराम बस्नेतको चुनावी घरदैलो अभियानले तीव्रता पाएको छ । सुनसरी क्षेत्र नं. ४ क बाट प्रदेश सभा सदस्य उम्मेदवार बस्नेतले सोमबार रामधुनी नगरपालिकाको वडा नं ४ को लालपुर, रामपुर र इक्राईका विभिन्न टोलमा चुनावी भेला तथा घरदैलो अभियान गरेका छन् ।
प्रतिनिधि सभा सदस्य जगदिश कुसियैतसहितको संयुक्त टोलीले मतदाताहरूसँग आफना चुनावी एजेन्डा प्रस्तुत गदै भोट मागेका थिए । बस्नेतले आफ्नो प्रमुख एजेन्डा भ्रष्टाचार र कुसंस्कारको अन्त्य गदै विकास र समृद्धि रहेको प्रस्ट पारे । पहिलो पटक निर्वाचनमा सहभागी हुन पाउँदा आफू अत्यन्त उत्साहित भएको बताउँदै घरदैलो अभियानको माहौल र मतादाताहरूसँगको अन्तरकृयाले चुनाव सहजै आफूहरूको पक्षमा देखिएको बताए ।
मतादाताहरूको अपेक्षा नै भ्रष्टाचाररहित समाज अनि दिगो विकास भएकाले आफ्नो लक्ष्य अनुसार चुनावी अभियान एमाले र जसपाको पक्षमा देखिएको उनको धारणा छ । काँग्रेसले सुनसरी क्षेत्र नं. ४ मा नेतृत्व गरे पनि मतदाताहरूको अपेक्षा अनुसार काम नभएको बस्नेतको भनाई छ ।
बस्नेतले रामधुनी मन्दिर क्षेत्रलाई धार्मिक पर्यटनको विकास गर्ने, कोसी नदीको प्रकोप न्यूनीकरण गर्ने, कोसी टप्पु वन्यजन्तु आरक्षणलाई वैज्ञानिक र आधुनिक पद्धतिबाट संरक्षण गर्ने, प्रत्येक वडाहरूमा प्राथमिक स्वास्थ्य चौकीको स्थापना गर्ने, सामुदायिक विद्यालयको स्तरोन्नति गर्ने, रामधुनी मन्दिरलाई पर्यावरणीय सन्तुलनका लागि जैविक विविधता कायम गर्ने, झुम्का कारघारदेखि रामधुनी मन्दिरसम्म बाटोलाई व्यवस्थित तथा फराकिलो बनाउने तथा खेलकुद पूर्वाधार विकास लगायतका आफना एजेन्डाहरू मतादाताहरूसँग प्रस्तुत गरेका थिए ।
निर्वाचन जितेको खण्डामा आफू सेवक भएर काम गर्ने समेत बस्नेतले प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसको लागि चुनाव चिन्ह छातामा आफ्नो अमूल्य मत दिएर विजयी गराइदिन उनले मतदाताहरूसँग अपिल गरे ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य उम्मेदवार जगदिश कुसियैतले ४ नं. निर्वाचन क्षेत्रमा मतदाताहरूले आमूल परिवर्तन चाहेको बताए । प्रदेश सरकारमा रहँदा यस क्षेत्रमा धेरै विकास गरेको बताउँदै कुसियैतले बाँकी रहेका अधुरा काम पुरा गर्न एमाले र जसपालाई विजयी गराउन आग्रह गरे ।