इटहरी उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रमा रहेका अवैध संरचना हटाउन सुरु गरेको छ। मुख्य बजार क्षेत्रमा सँगै खोला पैनी मिचेर निर्माण गरिएको अवैध संरचना हटाउन सुरु गरेको हो । मेयर हेमकर्ण पौडेल, उपमेयर सङ्गीता चौधरी सहित इन्जिनियरहरू सहितको टोलीले २ वटा निर्माणाधीन अवैध संरचना ७ दिन भित्र हटाउन निर्देशन दिएको हो। "पैनी मिचेर बनाएको संरचना तत्काल हटाउन निर्देशन दिएका छौ" मेयर पौडेलले भने।
इटहरी-७ की आशा साह र इटहरी-१० का पदम दर्नालले पैनीको जग्गामा घर बनाएको भन्दै स्थलगत निरीक्षण गरी उनीहरूले बनाउँदै गरेको घर रोकिएको हो ।
इटहरीकी उपमेयर सङ्गीता चौधरीले खोला पैनीमा बनेको संरचना तत्काल हटाउन निर्देशन दिएकी छन्। वडाहरूलाई पनि निर्देशन कडाइको साथ लागुगर्न उपमेयरको निर्देशन थियो ।
इटहरीका सुदिप दाहालको पैनी माथि बनाएको संरचना पनि भत्काइएको छ। लामो समय देखि संरचना मुनि पैनी कुदिरहेको रहेछ हामीले सहमतिमै भत्काउन लगायौ इटहरी-६ का वडाध्यक्ष दिवस पोखरेलले भने । वडा भित्रको सार्वजनिक सम्पत्ति संरक्षण अभियान सुरु भएको पोखरेलको भनाई छ ।