• पुस २१, २०७९
  • जुनकिरी खबर

सगरमाथा क्षेत्र भ्रमण गर्नेको संख्या ७० प्रतिशतले बढ्यो

alt

काठमाडौँ / सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटक आवागमन ७० प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७८/०७९ को पहिलो पाँच महिनाको तथ्याङ्कलाई हेर्ने हो भने चालु आर्थिक वर्ष २०७९/०८० को सोही अवधिमा सगरमाथा क्षेत्र भ्रमण गर्नेको सङ्ख्यामा ७० दशमलव १७ प्रतिशतले वृद्धि भएको पाइन्छ ।

सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्याङ्कअनुसार गत आवको पहिलो पाँच महिनामा सात हजार चार सय ६४ जना पर्यटकले खुम्बु भ्रमण गरेका थिए भने चालु आवको सोही अवधिमा २५ हजार २९ जनाले भ्रमण गरेका छन् । चालु आवको साउनमा तीन सय ८५, भदौमा छ सय ९०, असोजमा छ हजार सात सय ३१, कात्तिकमा १३ हजार एक सय ५८ र मङ्सिरमा चार हजार ६५ पर्यटक खुम्बु पुगेको निकुञ्जका सूचना अधिकारी मनोज मण्डलले जानकारी दिए ।

पाँच महिनामा २१ हजार आठ सय ५३ विदेशी र तीन हजार एक सय ७६ जना नेपाली पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेको सूचना अधिकारी मण्डलको भनाइ छ । भ्रमण गर्ने विदेशी पर्यटकमध्ये एक हजार नौ सय ९० सार्क मुलुकका र १० हजार आठ सय ६३ अन्य मुलुकका रहेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।

निकुञ्जले पर्यटक प्रवेश शुल्कबाट पाँच महिनामा तीन करोड ५५ लाख ७७ हजार एक सय ७६ राजस्व सङ्कलन गरेको छ । विदेशी पर्यटकबाट प्रतिपर्यटक रु तीन हजार प्रवेश शुल्क लिने गरेको छ भने सार्क मुलुकका नागरिकबाट रु एक हजार पाँच सय र नेपालीबाट रु एक सय प्रवेश शुल्क लिने गरेको छ ।

अघिल्लो वर्ष कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउन तथा सङ्क्रमण जोखिमका कारण पर्यटक आवागमन न्यून बनेको सगरमाथा क्षेत्रमा यस वर्ष जोखिम हटेसँगै पर्यटक आवागमन बढेको निकुञ्जले जनाएको छ । विसं २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ ।

पू्र्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरासमेत रहेका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]