इटहरी गोल्डकपको उद्घाटन खेलमा डिफेन्डीङ च्याम्पियन सगरमाथा ब्वाईज क्लब (मोरङ) विजयी भएको छ । प्रतियोगिताको उद्घाटन खेल मोरङ र एभिनियर फुटबल क्लब क्यामरुन बिच भएको थियो ।
निर्धारित ९० मिनेटमा कुनै दुवै टिमले गोल गर्न नसकेपछि ४ मिनेट समय थप भयो । थपिएको ४ मिनेट गोलरहित भएपछि पेनाल्टी सुट आउटबाट खेलको टुङ्गो लागेको हो ।
पेनाल्टी सुट आउटमा क्यामरुन मोरङसँग ४-३ को गोल अन्तरले पराजित भएको हो । मोरङको लागि राजीव लोओपा, अभिषेक राई, अभिषेक लिम्बु र मुस्केले गोल गरेका हुन् ।
इटहरी रङ्गशालामा शनिवार इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले खेलका उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मेयर पौडेलले खेलकुदले मात्र जनताको भावनालाई एकसुत्रमा जोडन सक्ने बताए ।
राजनीतिक नेतृत्वले जनताको भावनालाई जोड्न नसकिरहेको अवस्थामा फुटबल लगायतका खेलले देशको झन्डा बोक्ने र एकताको सन्देश दिने गौरवपूर्ण काम गरेको प्रस्ट पारे । आगामी दिनमा इटहरी गोल्डकपमा उपमहानगरपालिकाले अझ बढी लगानी गर्दै जाने उनको भनाई छ ।
राष्ट्रिय जागृति क्लबले आयोजना गर्न लागेको प्रतियोगितामा १० टिमको सहभागिता रहको छ । विजेता टिमले नगद १० लाख र उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् ।