सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष २०२० को अवधिमा धनकुटामा ५ लाख पर्यटक भित्र्याउने योजना अघि सारिएको छ । पर्यटन वर्ष २०२० सुरु हुन मुस्किलले पाँच महिना बाँकी छ । समग्र मुलुकभर सन् २०२० को एक वर्षको अवधिमा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य छ ।
त्यसको एक चौथाई आन्तरिक तथा बाह्य पर्यटक भने धनकुटामा भित्र्याउने लक्ष्यका साथ जिल्लाका पर्यटन व्यवसायी जुट्न थालेका छन् । जिल्लाको चर्चित पर्यटकीयस्थल भेडेटार, नाम्जे, डाँडाबजार, राजारानी, हिले, पाख्रिबास लगायतका स्थानमा पर्यटन वर्षलाई लक्षित गरी तयारी थालिएको छ ।
ती स्थान भित्रिने मुख्य द्वार भेडेटारमा यसको तयारी द्रुत रूपमा थालिएको पर्यटन व्यवसायी विष्णुराज श्रेष्ठ बताउँछन् । ३० वर्षदेखि पर्यटन क्षेत्र तथा होटल व्यवसायमा जुटेका श्रेष्ठले पर्यटन वर्षलाई स्वागत गर्न आतुर रहेको बताए ।
‘
हामी आगामी पाँच महिनाको पर्खाईमा पर्यटन वर्षलाई स्वागत गर्न लालायित छौं,’ उनले भने, ‘अधिकतम पर्यटक भित्र्याउने लक्ष्यका साथ योजनाबद्ध रूपमा जुटेका छौं ।’ भेडेटार क्षेत्रमा सदावहार पर्यटक भित्रिने गरे पनि अधिकतम आगन्तुक भित्र्याउन विशेष आधार रहेको उनको दाबी छ ।
एसियाली विकास बैंक (एडिबी) सँगको सहकार्यमा पर्यटन सम्बन्धी गतिविधि थालनी गर्न लागिएको उनले बताए । पर्यटनका पर्याप्त सम्भावना बोकेको स्थान भएकाले एडिबीले भेडेटारमा पर्यटनसम्बन्धी लगानी गर्न लागेको श्रेष्ठको भनाइ छ ।
३ सय ५० करोडको लागतमा निर्माण भइरहेको रवि राँके इलाम, कन्याम पाँचथर सडकले पनि पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याएको उनी बताउँछन् । उक्त सडकको मुख्य विन्दु भेडेटारबाट अब ६ घण्टामा ताप्लेजुङको प्रसिद्ध पाथीभरा देवीस्थल पुग्न सकिन्छ ।
होटल एसोसिएसन भेडेटारको अगुवाइमा पर्यटन वर्षमा पर्यटक आकर्षणका थप अभियान थालिएको संस्थाका निवर्तमान अध्यक्ष लीलाराज लावतीले बताए । उक्त अवधिमा भेडेटार भएर समग्र जिल्लामा ५ लाखभन्दा बढी पर्यटक भित्र्याइने लक्ष्य रहेको उनी बताउँछन् ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved