इटहरी । गैर आवासीय नेपाली सङ्घ एनआरएन वेस्ट्रन अस्ट्रेलियाको युवा संयोजक पदमा इटहरीका मनिष सिग्देल सर्वसम्मत चयन भएका छन् । २०२३-२०२५ को लागि एनआरएन डब्लुएको यूथ कोडिनेटरको लागि २९ जुलाईमा भएको निर्वाचनमा सिग्देल सर्वसम्मत चयन भएका हुन ।
अन्तर्राष्ट्रिय विद्यार्थीको हैसियतमा वेस्ट्रन अस्ट्रेलियाको पर्थमा बसोबास गदै आएका उनी नेपाली समुदाय, यसका गतिविधिहरू, समस्या, सम्भावना र सामुदायिक दायित्वलाई महसुस गरी आफूले उम्मेदवारी दिएको र सर्वसम्मत निर्वाचित भएकोमा अत्यन्त खुसी भएको उनले बताए । साथै पाएको जिम्मेवारी पूर्ण रूपमा निभाउने उनले प्रतिबद्धता जनाएका छन् ।
नेपाली युवाहरूको प्रोत्साहन र सशक्तीकरणको लागि सधैँ अग्रसर रहने सिग्देलले विभिन्न किसिमका युवाहरू लक्षित कार्यक्रमहरू आयोजना र संयोजन गदै आएका छन् ।
नेपाली विद्यार्थीहरूलाई एकजुट गराउन उनले विभिन्न खेलकुद तथा साङ्गीतिक गतिविधिहरू समेत गदै आएका छन् । यस्तै पर्थमा रहेका नेपालीहरूको लागि वैदेशिक जीवनको परामर्श दिइने, गैर आवासीय नेपालीहरूको हक हितको पक्षमा आवाज उठाउने, सवारी सम्बन्धी जानकारी, नयाँ बिद्यार्थीहरुको लागि आवश्यक समन्वय, कर र रोजगार सम्बन्धी जानकारी दिने जस्ता सामाजिक कार्य समेत सिग्देल अग्रसर रहने गरेका छन् ।
कुरा भन्दा पनि कर्मले आफ्नो पहिचान बनाउनु पर्ने उद्देश्य बोकेका सिग्देलले नवागन्तुक समर्थन र सहानुभूति कार्यक्रम, परिवर्तनका लागि युवा सोच, लागुऔषध तथा जुवाजन्य कार्यको दुरुपयोग रोकथाम, मानसिक स्वास्थ्य, सांस्कृतिक संरक्षण, सामुदायिक स्वयंसेवा, युवाहरूको लागि सिपमूलक तालिम, व्यावसायिकता प्रवर्द्धन कार्यक्रमहरू आफ्नो कार्यकालमा अघि बढाउने उनको योजना छ ।
सिग्देलले अग्रजहरूको साथ र सल्लाहबाट आफूले महत्त्वपूर्ण पदमा निर्वाचित भएकोमा सबैलाई आभार प्रकट गरेका छन् ।
सिग्देल वेस्ट्रन अस्ट्रेलियाको पूर्व स्नुकर तथा विलार्ड सङ्घको केन्द्रीय सदस्य समेत हुन् । उनी पर्थको चर्चित इभेन्ट कम्पनी कर्मा इभेन्टको डाइरेक्टर हुन । उनकै नेतृत्वमा अनुप्रस्थ फाउन्डेसनलाई अस्ट्रेलियन ८ हजार डलर क्यान्सर रोगी को लागी उठाएका थिए ।