कोशी प्रदेशको मुख्यमन्त्रीको लागि केन्द्रीय स्तरका नेतृत्वले चासो दिएका छन् । मुख्यतः नेपाली काँग्रेस र माओवादी केन्द्रका नेताहरू कसलाई मुख्यमन्त्रीमा अगाडी सार्ने भन्ने आन्तरिक तयारीमा छन् ।
यसअघि मुख्यमन्त्री भएका काँग्रेस संसदीय दलका नेता उद्धव थापा दुई पटक सर्वोच्च अदालतबाट बर्खास्तमा परेका थिए । काँग्रेस सभापति शेरबहादुर देउवाले थापालाई पुनः मुख्यमन्त्री बनाउनुपर्ने अडानमा छन् । तथापि थापाले बहुमत पुर्याउन नसक्ने सुझाव आएपछि उनी लचक हुनसक्ने देखिएको छ।
गठबन्धनका दलहरू बिचको प्रारम्भिक छलफलमा माओवादी संसदीय दलका नेता इन्द्र बहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने विषय चर्चामा छ । राप्रपाले आङ्बोलाई समर्थन गर्ने आशय व्यक्त गरेको भन्दै गठबन्धनका दलहरूले उनकै नाममा सहमति गर्ने प्रयास अगाडी बढाएका हुन् ।
गठबन्धनका दलहरूले निर्णय गर्न बाँकी रहे पनि नेता डाक्टर शेखर कोइराला थापा बाहेक काँग्रेसकै नेता मुख्यमन्त्री हुनुपर्ने अडानमा छन् । थापासँग संसदीय दलको नेतामा पराजित केदार कार्कीले उपधारा ५ अनुसार बन्ने मुख्यमन्त्रीको लागि तीव्र तयारी गरेका छन् । उपधारा ५ मा कुनै एउटा सांसदले बहुमत पुर्याए सरकार गठन गर्न सक्छ । दलको ह्विप नलाग्ने भएपछि कार्कीले स्वतन्त्र रूपमा अभियान चलाइरहेका छन् ।
काँग्रेस नेता डाक्टर शेखर कोइराला निकट मानिएका कार्की सकेसम्म गठबन्धनकै साझा उम्मेदवार बन्ने दाउमा छन् । गठबन्धनले समर्थन नगरे आफू निकट सांसद तथा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बन्ने तयारीमा छन् उनी । संसदीय दलको बैठकमा पाएको ९ मत र नेकपा एमालेको उपसभामुख बाहेक ३९ मतले बहुमत पुर्याउने उनको तयारी छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ सांसद आवश्यक पर्छन् ।
नेकपा एमालेले भने हालसम्म कसैले पनि सरकार गठनको लागि सहयोग आह्वान नगरेको कारण निर्णय गर्न सकेको छैन । एमाले प्रमुख सचेतक रेवती रमण भण्डारी कसलाई सहयोग गर्ने भन्नेबारे कुनै निर्णय नभएको बताउँछन् । उपधारा ५ मा सरकार गठन गर्न एमाले सहयोगी भूमिकामा रहने बताउँदै उनले मध्यावधि निर्वाचन तर्फ जाने बाटो बन्द गर्ने बताए ।
Source : Kapurinews.com
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved