गत कार्तिक १७ गते सप्तकोशीमा डुबेर घाइते बनेका पत्रकारको उपचार खर्च दिन प्रदेश सरकार र सशस्त्र प्रहरीले आलटाल गरेको छ । सप्तकोशीमा डुब्दा पत्रकारहरुको मोवाइल, नगद तथा क्यामेरा गरी झण्डै ५ लाख रुपैयाँ भन्दा बढीको सञ्चार उपकरणहरु काम नलाग्ने भएको थियो ।
सप्तकोशी नदीस्थित पुलमा सशस्त्र प्रहरी बल वराह बाहिनीको विपद् उद्धार परीक्षण कार्यक्रमको समापनको अवसरमा ‘डेमो’ देखाउन भन्दै सशस्त्र प्रहरीले पत्रकार भेला गरेको थियो । त्यसक्रममा ‘डेमो’ देखाउनुको साटो क्षमताभन्दा बढीलाई डुंगामा चढाएको कारण सप्तकोशीमा दुर्घटना भयो ।
दुर्घटनामा परी घाइते भएका विराटनगरस्थित रेडियो नेपालका पत्रकार कुमोद अधिकारीलाई पाँच दिनसम्म धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसियुमा राखेर उपचार गर्नुपरेको थियो । यस्तै कान्तिपुर टेलिभिजनका पत्रकार महाप्रसाद खतिवडालाई पनि केही दिन उपचार गर्नुपरेको थियो ।
पत्रकार अधिकारीले उपचार गरेको ६५ हजार रुपैयाँ आफैंले तिर्नु परेको बताए । पत्रकार खतिवडाले पनि उपचार खर्च आफैंले गरेको बताए । पत्रकारहरुलाई सशस्त्र प्रहरीले गाडीमा हालेर लगेको थियो । सशस्त्र प्रहरी कोशी प्रदेशका प्रमुख डिआइजी अञ्जनी पोखरेलले प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले क्षतिपूर्ति दिने गरी आफूहरुले सिफारिस गरेको बताए । ‘हामीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई सिफारिस गरेर पठाएका थियौं । के भएछ बुझ्छु है त,’ उनले भने ।
त्यसबेला आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा मुख्यमन्त्री केदार कार्कीले नै लिएका थिए । प्रदेश सरकारका जनसम्पर्क अधिकृतसमेत रहेका पत्रकार महासंघ प्रदेशका अध्यक्ष लिलाबल्लभ घिमिरेले कार्यविधिमा १५ हजार मात्रै क्षतिपूर्ति दिने व्यवस्था रहेकोले त्यसलाई सच्याएर पत्रकारलाई उपचार खर्च र हराएको, बिग्रेको सामान बुझाएअनुसार सोही सामानको मूल्य बराबरको रकम क्षतिपूर्ति उपलब्ध गराइने बताए ।
पत्रकार खतिवडाले आफ्नो ३५ हजारको मोवाइल डुबेको बताए । यस्तै अधिकारीले पनि सोही मूल्य बराबरको मोवाइल, पर्स र नगद तथा उपचार खर्च गरी १ लाख १० हजारबढीको क्षति भएको बताए । पत्रकार जितेन्द्र ठाकुरले नगद ३० हजारसहित पर्स र मोवाइल डुबेको बताए । कान्तिपुर टेलिभिजनकै पत्रकार शम्भु पोखरेलको झण्डै ३ लाख रुपैयाँ पर्ने क्यामेरा तथा ट्राइपोर्ट डुबेको थियो । पोखरेलले आफ्नो २ वटा मोबाइल पनि डुबेको बताए ।
‘हामीलाई सशस्त्रकै जवानहरुले जबर्जस्ती डुंगामा चढ्न भनेका हुन् । हामी नचढ्ने भनेर बसेका थियौं । अनि क्षमताभन्दा बढी चढेपछि दुर्घटना भयो,’ पत्रकार खतिवडाले भने, ‘अहिलेसम्म सरकारी निकाय तथा पत्रकारसँग सम्बन्धी संघ संस्थाले खोजी नै गरेनन् ।’
यता, पत्रकार महासंघ कोशी प्रदेशका महासचिव विवेक गौतमले आफूहरुले क्षतिपूर्तिका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मुख्यमन्त्री कार्यालय र सशस्त्र प्रहरीलाई भनिरहेको बताए । ‘हामीले तत्काल क्षतिपूर्ति दिन दबाब दिएका छौं,’ गौतमले भने ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved