• वैशाख २, २०८१
  • जुनकिरी खबर

वर्ष २०८० : इटहरी उपमहानगरले नगरबासीलाई आशा जगाएको वर्ष

alt

वर्ष २०८० इटहरीवासीका लागि आशा जगाएको वर्ष रह्यो । स्थानीय सरकार अर्थात् इटहरी उपमहानगरपालिकाले नयाँ कामको सुरुवात गर्दै निराश बनेका नगर बासीलाई थोरै भए पनि आशा जगायो ।

२०८० सालमा धेरै नयाँ काममा हात हालेको इटहरी उपमहानगरले सम्भावना अझै बाँकी रहेको अनुभूत गरायो । निर्वाचित भएको पहिलो वर्ष खासै कामको मेलो अगाडी बढ्न नसकेपछि इटहरीवासीमा उत्साह छाएन, जो आए पनि उस्तै भन्दै निराश बने । तर ०८० सालमा भने इटहरी उपमहानगरले देखाएको सक्रियताले नगर बासीमा नयाँ आशा पलायो ।

उपमहानगरले वर्षको अन्तिम महिनाबाट टेङ्ग्रा खोला सफाइ अभियान सुरु ग¥यो । धेरैले खोला पैनी सफाइ होला र ? भन्दै अविश्वास गरेका थिए । अघिल्ला सरकार जस्तै यो सरकारले पनि काम गर्नेमा इटहरीवासीमा विश्वास थिएन । तर उपमहानगरले काम थाल्यो । यो कार्यलाई लिएर इटहरी उपमहानगरलाई हेर्ने दृष्टिकोणमा थोरै भए पनि बदलाव आएको छ । वर्षको सुरुवातमा कर वृद्धिको तीव्र विरोध भयो । तर कर समायोजन गरेपछि भने विवाद मत्थर भयो ।

सार्वजनिक शौचालय,अस्पताल सुधार, विद्यालय खाजा कार्यक्रम, निःशुल्क घर नक्सा, विद्यालयमा एउटै पोसाक, निजी विद्यालयको नयाँ वर्गीकरण र शुल्क निर्धारण, पूर्वाधार विकासका केही नयाँ काम यही वर्ष सुरु भए । मेयर उपमेयर, मेयर वडाध्यक्ष बिचको राजनीतिक कलह, आरोप प्रत्यारोप र आन्तरिक द्वन्द्वका बिच उपमहानगरपालिकाले सुरु गरेका कामको राम्रै चर्चा भयो । राजनीतिक उतारचढाव, एकले अर्कालाई असहयोग गरेको आरोपका बिच उपमहानगरपालिकाको गतिविधिले तीव्रता पाएको यो वर्ष सम्झन लायक रह्यो । यस हिसाबले भन्दा २०८० साल इटहरी उपमहानगरपालिकाको नयाँ कामको थालनीको वर्ष रह्यो भन्दा खासै अत्युक्ति नहोला ।

खोला पैनी सफाइ र टेङ्ग्रा कोरिडोर

टेङ्ग्रा सफाइ गर्न डोजर चल्यो । खोलाको क्षेत्राधिकार भित्र बनाइएका अवैध संरचना भत्काउन थालियो । छानबिन समितिले ७४ वटा घर भत्काउनुपर्ने प्रतिवेदन दिएको थियो । प्रतिवेदनलाई पास गरेको उपमहानगरले त्यसलाई कार्यान्वयनमा ल्यायो । शुक्रवार सम्म ७ किलोमिटर खोला सफा भएको छ । ४ वटा नक्सा पास भएका सहित अन्य १४ वटा पक्की घर भत्काइयो । भत्काउनुपर्ने २७ घर, घरधनीले तत्काल भत्काउने स्वघोषणा गरी सहिछाप गरेका छन् । दुई सय भन्दा बढी टहराहरू भत्किएका छन् । घर भत्काउने क्रम जारी छ ।

उपमहानगरपालिकाले डुबानको समस्या दीर्घकालीन समाधान गर्न टेङ्ग्रा कोरिडोरको अवधारणा अघि सारेको छ । विश्व बैङ्कको सहयोगमा टेङ्ग्रा कोरिडोर निर्माण हुने उपमहानगरले जनाएको छ ।
ताल तलैयाको मुहान देखी दक्षिणी सीमा क्षेत्र सम्म करिब ९ किलोमिटर लामो कोरिडोर निर्माण हुनेछ । कोरिडोर बनाउन साइड क्लियरेन्सको काम पनि अहिले हुँदैछ । पानी बग्ने खोलाको भागलाई ३५ फिट, त्यसको दायाँ बायाँ २०/२० फिट कोरिडोरका लागि सफा गरिँदै छ । खोला सफाइ र साइड क्लियरेन्सको काम सकिएपछि विश्व बैङ्कको प्राविधिक टोलीले कोरिडोर क्षेत्रको निरीक्षण गर्ने प्रशासन महाशाखाका प्रमुख सञ्जीव खड्काले जानकारी दिए । टेङ्ग्रा खोलामा भएको कामले अन्य खोला पैनीमा सफाइको दबाब बढेको छ । डुबान रोक्न सबै खोला पैनी सफा गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

अस्पतालमा उपचार हुन थाल्यो

घर देखी घाट सम्म सुविधा दिने भन्दै उपमहानगरले निःशुल्क शववहानको सेवा यही वर्षबाट सुरु ग¥यो । निःशुल्क एम्बुलेन्सको सुविधा दिएको छ ।
इटहरी अस्पतालमा ओपिडी सेवा लिने बिरामीको चाप बढेको छ । एमबिबिएस डाक्टरहरू नियमित बस्न थालेसँगै बिरामीको चाप बढेको हो । अस्पतालमा अहिले दैनिक रूपमा हाड जोर्नी, महिला तथा स्त्री रोग विशेषज्ञ र बाल रोग विशेषज्ञले बिरामीको उपचार गर्ने इटहरी अस्पतालका मे.सु गुन्जन त्रितालले जानकारी दिए ।

परीक्षणका लागि आउने बिरामीको सङ्ख्या बढेको अस्पतालले जनाएको छ । विशेष गरी रगत, एक्स रे, भिडियो एक्स रे, ई सिजी गर्ने बिरामीहरूको सङ्ख्या बढेको छ । योसँगै नियमित रूपमा सुगर जाँच, भिटामिन डी,थाईराईड टेस्ट गर्न बिरामी अस्पताल पुग्छन् ।

पोसाकको विवाद अदालतसम्म

यो वर्ष सर्वाधिक चर्चा पाएको विषय हो, विद्यालय खाजा कार्यक्रम र विद्यालयको पोसाक । सङ्घीय सरकारले दिने अनुदानमा उपमहानगरले रकम थप गरी कक्षा ६ सम्मकै विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम सुरु ग¥यो । बटुकोमा आधा केरा र स्याउको फोटो देशभर भाइरल भयो । तीव्र विरोध आए पनि अहिले भने व्यवस्थित रहेको शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख द्रोण दाहालले जानकारी दिए ।

आगामी शैक्षिक सत्रबाट अझै व्यवस्थित रूपमा सञ्चालन गर्ने योजना रहेको दाहालले जानकारी दिए । शिक्षामा उपमहानगरले नयाँ प्रयोग ग¥यो । सबै(सामुदायिक तथा निजी) विद्यालयमा एउटै पोसाक लगाउनुपर्ने नियम लागु ग¥यो । यो नियमको चर्को विरोध भयो । अझै भइरहेकै छ । यो विवाद अदालत सम्म पुग्यो । निजी विद्यालयहरूको संस्था प्याब्सनले उपमहानगरका विरुद्ध मुद्दा दायर ग¥यो । सर्वोच्चले अन्तरिम आदेश दिनु नपर्ने भने पछि उपमहानगर निर्णय कार्यान्वयन गराउन लागी परेको छ । अदालतको आदेश पछि सबै विद्यालयलाई आगामी शैक्षिक सत्रबाट एउटै पोसाक लगाउन परिपत्र गरिसकेको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ ।

उपमहानगरले निजी विद्यालयको नयाँ वर्गीकरण गर्ने र सोही आधारमा शुल्क निर्धारण गर्ने जनाएको छ । सो अनुसार अहिले काम अन्तिम चरणमा पुगेको शिक्षा युवा तथा खेलकुद महाशाखाका तीर्थ गौतमले जानकारी दिए । निजी विद्यालयहरूको अनुगमन गरी टेबुलेसनको काम भइरहेको जानकारी दिए । अभिभावकबाट माथिल्लो श्रेणीको शुल्क लिए पनि सुविधा भने तल्लो श्रेणी बराबरको दिने गरेको आरोप निजी विद्यालयलाई लाग्ने गरेको छ । शैक्षिक गुणस्तर सुधारका लागि उपमहानगरले २७ बुँदे सङ्कल्प पत्र यही वर्ष सार्वजनिक ग¥यो ।

निःशुल्क घर नक्सा

इटहरीले ०८० सालबाट इटहरीमा घर नक्सा बनाउन अनलाइन सिस्टम सुरु ग¥यो । ईविपीएस सिस्टमले घर नक्सा शाखाको भिड स्वाट्टै हटाइदियो । फाइल बोकेर फाँट फाँट धाउनुपर्ने बाध्यता हट्यो । १ हजार स्वायर फिट सम्मका घरको नक्सा निःशुल्क बनाइदिन पनि यही वर्षबाट सुरु भयो । गरिब, सीमान्तकृत वर्ग र मध्यम वर्गका लागि आर्थिक बोझ केही कम भयो ।

यो वर्ष केही महत्त्वाकाङ्क्षी योजना सुरु भए । झन्डै दुई दशक अघि निर्माण भएको बसपार्क अस्तव्यस्त भएपछि व्यवस्थित बसपार्क बनाउन सुरु भयो ।
९ करोड ४८ लाख ८३ हजार ५ सय ५६ रुपैयाँको लागतमा १८ महिना भित्र सम्पन्न गर्ने गरी निर्माण भइरहेको इन्जिनियर जीवन घिमिरेले जानकारी दिए । नगर विकास कोषको ७० प्रतिशत र उपमहानगरपालिकाको ३० प्रतिशत लगानी रहेको इन्जिनियर घिमिरेले जानकारी दिए ।

लामो समयदेखि निर्माण गर्ने भनेर चर्चामा रहेको आकाशे पुल र सभा हल निर्माणको ठेक्का लागेको छ । धरान रोड र गोल्डेन चौकमा २ वटा आकाशे पुल निर्माणको ठेक्का लागेको हो ।

यस्तै आधुनिक सभा हल निर्माणको पनि ठेक्का लागेको इन्जिनियर घिमिरेले जानकारी दिए । इटहरी ५ स्थित काव्यवाटिको जग्गामा ३ तले सुविधा सम्पन्न, ५ सय मानिस अट्ने सभा हल निर्माणको ठेक्का लागेको उनले जानकारी दिए ।

यी दुवै महत्वकाक्षी योजना यो वर्ष ठेक्का लागे पनि निर्माण सुरु भने २०८१ मा हुनेछ । निर्माण गरिने पूर्वाधारको गुणस्तर मापन गर्न उपमहानगरले प्राविधिक ल्याब सञ्चालनमा ल्याएको छ । डन्डी, सिमेन्ट,इटा,गिटी बालुवाको गुणस्तर मापन गर्न प्राविधिक ल्याब स्थापित भएको छ । बाह्य पालिका तथा ठुला आयोजनाको निर्माण सामाग्रीको गुणस्तर मापन गर्न इटहरी ल्याउने गरिएको छ । यसबाट इटहरीको राजश्व पनि राम्रै वृद्धि भइरहेको छ ।

सेवा प्रवाह र प्रशासन सुधार

पालिकाले प्रदान गर्ने सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन नीतिगत सुधारको काम थाल्यो । यसका लागि मुख्य रूपमा प्रशासनिक सुधार गरिएको उपमहानगरको दाबी छ । कर्मचारीको अनिवार्य पोसाक, इ हाजिरी,समयको व्यवस्थापन, सिसिक्यामराको मोनिटरिङ, नागरिक सहायता कक्ष जस्ता आधारभूत पक्षमा सुधार गरिएको प्रशासन महाशाखा प्रमुख सञ्जीव खड्काले जानकारी दिए ।

स्पष्टीकरण सोधेर मौका दिँदा पनि नसुध्रिएका ५ जना कर्मचारीको करार सम्झौता रद्द गरी निष्कासन गरिएको उपमहानगरले जनाएको छ । छड्के चेकजाँच, फाँट सरुवाले पनि कर्मचारीलाई नियममा बस्न बाध्य बनाएको छ । यो वर्ष फाँट सरुवाले कर्मचारी वृत्तमा हङ्गामा नै सृजना गरेको थियो । उपमेयर र केही वडा अध्यक्षहरूले विरोध जनाए । तर पछि त्यो विषय आफै सेलाएर गयो ।

नागरिकलाई सहजढंगबाट सेवा दिन नागरिक सहायता कक्ष स्थापना गरिएको प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले जानकारी दिए ।
सेवाग्राहीको निवेदन लेखिदिने,नबुझेको कुरा बुझाइदिने, अशक्त भए फाइल सम्बन्धित शाखामा पु¥याएर काम गरिदिने प्रमुख प्रशासकीय अधिकृत मेहताले बताए ।

उपमहानगरले सहायता कक्षमा निःशुल्क चिया कफी खुवाउने गरेको छ । सेवा लिन आएका सेवाग्राहीले निःशुल्क कालो चिया तथा कफी खान पाउँछन् । इटहरी उपमहानगरपालिकाले सिसिटिभी मोनिटरिङ गर्न डिजिटल कक्ष स्थापना गरेको छ । उपमहानगर र सो अन्तर्गतका सबै कार्यलयहरुमा सिसिटिभी क्यामरा जडान सुरु भएको छ ।

डिजिटल प्रविधिको प्रयोगले सेवा प्रवाहको गुणस्तरका थप सुधार हुने तथा सुशासन कायम गर्न मद्दत पुग्ने विश्वास लिएको प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले बताए ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]