होटेल व्यवसायी संघ इटहरीमा उत्पन्न विवाद उत्कर्षमा पुगेको छ । संघमा आबद्ध उपाध्यक्ष, कोषाध्यक्ष सहित केही असन्तुष्ट पदाधिकारीले सोमबार पत्रकार सम्मेलन गरी संघका अध्यक्ष जीवन पराजुलीले विधान विपरीत नियुक्त गरेका कार्यवाहक अध्यक्ष जयप्रसाद उपाध्यायले मनोमानी गरेको आरोप लगाएका छन ।
पराजुली इटहरी उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएर गएपछि उनले बिधानत उपाध्यक्षलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी नदिई उपाध्यायलाई दिएपछि मनोमानी सुरु भएको उनीहरूको आरोप छ । इलामको श्रीअन्तुमा व्यवसाय गर्दै आएका उपाध्यायको इटहरीमा कुनै होटेल व्यवसाय नभएको र उनलाई पराजुलीले कार्यबहाकको जिम्मेवारी दिएर पुन विधान विपरीत अहिले महासचिवको जिम्मेवारी दिएको असन्तुष्ट पक्षको भनाई छ ।
महासचिव उपाध्यायले गत चैत्र २७ गते उपाध्यक्ष प्रकाश महतो, कोषाध्यक्ष बाबुराम गिरी र सदस्य कृष्ण पराजुलीलाई संघबाट निष्कासन गरेका थिए । विधान विपरीत अध्यक्ष पराजुली र उपाध्यायले पदाधिकारीलाई कारबाही गर्दै संघबाट निष्कासन गरेकाले आफूहरू विरोधमा उत्रिएको असन्तुष्ट पक्षले जनाएका छन् ।
होटेल व्यवसायी संघ इटहरीको अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई कोरम नपुगेको साधारण सभाबाट विधान संशोधनको हवाला दिँदै कुनै पनि स्पष्टिकरणको लिखित जवाफ समेतको मौका नदिई पदमुक्त गरिएको उपाध्यक्ष महतोले बताए । महतो लगायतका पदाधिकारीले संस्थाको साधारण सभा, पिकनिक जस्ता कार्यक्रम गर्दा विभिन्न मदिराजन्य पदार्थ उत्पादन/बिक्री गर्ने कम्पनीबाट लिएको सहयोग आम्दानी आयव्ययमा प्रस्तुत नगरी हिनामिना गरेको समेत आरोप लगाएका छन् ।