• जेठ ११, २०८१
  • जुनकिरी खबर

इटहरीका जनप्रतिनिधिको दुई वर्ष

alt

इटहरी उपमहानगरमा जनप्रतिनिधिहरूले कार्यभार सम्हालेको आज (बुधबार जेठ ९ गते) दुई वर्ष पूरा भएको छ । दुई वर्षे कार्यकाल पूरा हुँदा जनप्रनिधिहरूबाट आशलाग्दो काम केही नभएको इटहरीबासीले गुनासो गरेका छन् । निर्वाचनको बेला घर–घर पुगेर गरेको वाचा जनप्रतिनिधिहरूले कुर्सीमा पुगेपछि बिर्सिएको इटहरीबासीको व्यापक गुनासो छ । भौतिक संरचना निर्माणबाहेक जनताले महसुस गर्ने गरी त्यस्तो कुनै ठोस काम नगरेको इटहरी–६ का होटल व्यवसायी गोविन्द श्रेष्ठले बताए ।

२०७९ जेठ ८ गते इटहरी उपमहानगरको प्रमुखमा निर्वाचित हेमकर्ण पौडेललगायत जनप्रतिनिधिहरूले जेठ ९ गते सपथ ग्रहणसँगै कार्यभार सम्हालेका थिए । हालै सार्वजनिक गरेको २ वर्षे कार्यकालमा गरेका प्रगतिहरू अलपत्र अवस्थामा रहेका छन् ।

उपमहानगरको सचिवालयले प्रमुख पौडेलबाट २ वर्षभित्र गरेका कार्य २८ वटा बुँदा सार्वजनिक गर्दै प्रभावकारी काम गरेको दाबी गरेका छन् । उक्त विवरणमा सार्वजनिक शौचालय निर्माण, थारु पहिलो जाति घोषणा, ग्रामथानको सूचीकरण, विद्यालयमा दिवा खाजा कार्यक्रम, इटहरी अस्पतालमा सुधार, मुख्य चोकमा पार्किङ निषेध, फुटपाथ व्यवस्थापन, पूर्वाधार ल्याव र खाद्य प्रविधि ल्याव सुरु, शैक्षिक गुणस्तर सुधार सङ्कल्प अभियान, खोलापैनी सफाइ, टेङ्ग्रा कोरिडोर निर्माणलगायतका बुँदाहरू समेटेर प्रभावकारी काम भएको दाबीसहित २ वर्षे विवरण सार्वजनिक गरेको हो ।

उपमहानगरबाट सार्वजनिक गरिएका अधिकांश बुँदाहरू अहिले अलपत्र अवस्थामा रहेका छन् । इटहरी चौकमा बनेका शौचालय अनुगमन नहँुदा एक साइड लथालिङ्ग बनेको छ ।

त्यस्तै मुख्य चौकमा पार्किङ निषेध र फुटपाथ व्यवस्थापन गरेको भनी प्रचार गरे पनि प्रभावकारी ढङ्गले लागू नभएको स्थानीयहरू बताउँछन् । इटहरीका अधिकांश फुटपाथ र भित्री सडकहरू व्यवसायीले कब्जा गरेको प्रमाणसहित ब्लाष्टले समाचारसमेत प्रकाशित गरिसकेको छ । त्यस्तै इटहरी उपमहानगरले सुरु गरेको महŒवपूर्ण योजना मानिएको टेङ्ग्रा करिडोर निर्माण अहिले रोकिएको छ । सुरुवाती समयमा प्रभावकारी योजना देखिए पनि स्थानीयहरू रुष्ट भई अदालतमा जाहेरी दिएलगत्तै सो अभियान अहिले रोक्का हुन पुगेको हो । करिडोर तथा खोला सफाइ गर्दा उपमहानगरले निजी जग्गामा डोजर चलाएको भनी जग्गा धनीहरूले अदालतमा रिट दायर गरेका छन् ।

उक्त रिटको सुनुवाइ गर्दै उच्च अदालत विराटनगरले सबै काम रोक्न आदेश जारी गरेसँगै हाललाई टेङ्ग्रा करिडोरका काम स्थगित भएको उपमहानगरका वातावरण शाखा अधिकृत पुष्पनारायण चौधरीले बताए ।

यता शिक्षा सुधारका नाममा ल्याइएको योजना अहिले कागजमै सीमित हुन पुगेको छ । इटहरीका सबै विद्यालयहरूमा एकै प्रकारको ड्रेस कोड लागू गर्ने योजना फेल भएको हो ।

उक्त योजनाको संस्थागत विद्यालयहरूलगायत प्याब्सन, एनप्याब्सन, हिसानलगायतले विरोध जनाउँदै कार्यान्वयन गरेका छैनन् भने उपमहानगरभित्रकै कार्यपालिका सदस्यहरूसमेत यो अभियान मान्न तयार देखिएका छैनन् । यही कारण इटहरीमा मेयर पौडेल र उपमेयर सङ्गीता चौधरीबीचको दूरी बढ्दै गएको पाइएको छ ।

अर्बौंको योजना कागजमै सीमित
यता उपमहानगरकै बहुआयामिक आयोजनाको रूपमा हेरिएको करोडौं रकम लगानीको  २ वटा आकासे पुल निर्माण, स्मार्ट पार्किङ, आधुनिक बसपार्क, सुविधा सम्पन्न सभाहल, विद्युतीय शवदाह गृह, अत्याधुनिक सुविधा सम्पन्न भेटेरिनरी अस्पताल निर्माणजस्ता आयोजनाहरू बजेट अभावका कारण सुरु नै हुन सकेका छैनन् । उपमहानगरबाट सार्वजनिक भएको प्रगति विवरणबारे अहिले सामाजिक सञ्जालमा पनि उत्तिकै विरोध भइरहेको छ ।

अझ व्यवसायीहरूको हकहितमा कुनै प्रभावकारी कार्यक्रम नै ल्याउन नसकेको गोरखा डिर्पाटमेन्ट स्टोरका सञ्चालक बलराम आचार्य बताउँछन् । उनले प्रभावकारी योजना र ठोस नीति ल्याएर व्यवसायीलाई पलायन हुनबाट जोगाउनुपर्नेमा पार्किङ निषेध गरेर उल्टै व्यवसाय नै धरापमा पारेको बताए ।

यता अन्य जनप्रतिनिधिको हकमा अहिलेको जनप्रतिनिधिहरूले केही गर्न खोजेजस्तो देखिएको इटहरीका व्यवसायी भीम पौडेल बताउँछन् । त्यस्तै नागरिक सामाजिक अध्यक्ष बालिका भट्टराईले भौतिक पूर्वाधार निर्माण पक्षमा उल्लेखनीय सुधार भए पनि नीतिगत कुरामा भने प्रमुख हाबी भएको बताइन् । नगरको हितमा काम गर्दा जे हुन्छ कार्यपालिका बैठक तथा विज्ञहरूको सुझावबाट गरिनुपर्नेमा मेयर पौडेलले एक्लौटी निर्णय गरिदिनाले अस्वभाविक भएको अध्यक्ष भट्टराईले बताइन् ।

त्यस्तै इटहरीका सामाजिक अभियन्ता हिरा आचार्यले अघिल्ला जनप्रतिनिधिको तुलनामा अहिलेकाले थुप्रै राम्रो काम गरिरहेको बताए । यता इटहरी उपमहानगरकी उपमेयर सङ्गीता चौधरीले भने समग्रमा आफ्नो २ वर्षे कार्यकाल भनेजस्तो नरहे पनि सन्तोषजनक नै रहेको बताइन् । जनप्रतिनिधि भएर पहिलो पटक अनुभव बटुल्ने अवसर पाएको र सधैँ जनताकै काममा तल्लीन भएर लागेको दाबी गरिन् ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]