जिल्ला प्रशासन कार्यालय सुनसरीले आर्थिक वर्ष २०८०।८१ मा १३ हजार ७७१ राहदानी वितरण गरेको छ । एक वर्षको अवधिमा वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जाने उद्देश्यका साथ राहदानी बनाउनेको सङ्ख्या बढेको प्रशासनले जनाएको छ ।
जिल्लामा आव २०८०।८१ को एक वर्षमा १७ हजार ४८० वटा राहदानीका लागि निवेदन आएकोमा १३ हजार ७७१ राहदानी वितरण गरेको हो । यस अवधिमा जिल्लामा राहदानीका लागि १७ हजार ४८० थान निवेदन दर्ता भएका छन् ।
यीमध्ये ५८ वटा राहदानी विभागमा सिफारिस गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीकाअनुसार मासिक एक हजार १५० भन्दा बढी राहदानी वितरण भइरहेको छ ।
यसैगरी प्रशासनमा यो अवधिमा ४०४ थान मुद्दा दर्ता भएका छन् भने ३४४ मुद्दा फछ्र्यौट भएका छन् । त्यस्तै जिल्ला प्रशासन कार्यालय सुनसरीले २०८०।८१ को एक वर्षमा १५ हजार ५२४ थान नयाँ नागरिकता जारी गरेको जनाएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुसार आव २०८०।८१ को साउनदेखि असार मसान्तसम्ममा यत्तिको सङ्ख्यामा नयाँ नागरिकता जारी गरिएको हो । प्रजिअ तिवारीका अनुसार सोही अवधिमा १३ हजार ७३३ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् ।
Copyright © 2019 / 2025 - Junkirikhabar.com All rights reserved