कोशी प्रदेश सभाका सदस्यहरूले सुनसरीको इटहरीमा हुने डुबान तथा विपद् समस्या समाधान गर्नकोलागि आफूहरूले प्रदेशमा पहल गर्ने प्रतिबद्धता जनाएका छन् । सुनसरीको इटहरीमा संसदीय पत्रकार मञ्च कोशी प्रदेशले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै सुनसरीबाट कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरूले पालिकाबाट तत्कालीन र दीर्घकालीन योजना माग गरे ।
अहिलेको विपद् तथा डुबान समस्या समाधान कोलागि इटहरी उपमहानगरपालिकाले समस्या समाधानको लागि अहिलेको अवस्था के हो, कसरी काम गर्ने, त्यसका लागि के के गर्ने भन्ने बारेमा तत्कालीन र दीर्घकालीन योजना लिएर आउन सांसदले आग्रह गरे । स्थानीय तहहरूको आवश्यकता एउटा प्राथमिकता अरू नै हुँदा समस्याको समाधान हुन नसकेको सांसदहरूले बताए । नेकपा एमाले संसदीय दलका कोशीका प्रमुख सचेतक रेवती रमण भण्डारीले इटहरीको पहिलो समस्या डुबान र बाढी भए पनि पालिकाले बसहरू खरिद गर्ने र अनावश्यक क्षेत्रमा खर्च गर्ने गरेको आरोप लगाए ।
उनले इटहरी डुबानको समस्या समाधान गर्नकोलागि अहिले देखिएको बन र स्थानीय तह बिचको ढुङ्गा गिटी बालुवा उत्खननको विषयमा हुँदै आएको विवाद समाधान गर्नु पर्नेमा जोड दिए ।
‘बन र स्थानीय तहको विवादका कारण सेरा खोलाका ढुङ्गा गिटी बालुवा उत्खनन गर्न सकिएको छैन, उनले भने, यसको समस्या समाधान प्रदेश सरकारले गर्नु पर्छ त्यसको लागि मैले पहल गर्छु ।’ खोलामा थुप्रिएका ढुङ्गा गिटी बालुवा निकाल्ने तत्कालीन समस्या भएकोले दीर्घकालीन समाधान कोलागि पालिकाले यति लगानी गर्छु प्रदेश सरकारले यसमा यति लगानी गर्नु पर्यो भनेर योजना सहित आउँदा आफूले यो योजना सफल गर्न भूमिका खेल्ने भण्डारीको प्रतिबद्धता छ ।
अर्का प्रदेश सभा सदस्य रमेश बस्नेतले कानुनी समस्या देखिए कानुनी जटिलता समाधान गर्न संसदीय समिति मार्फत समाधान खोज्ने बताए । सांसद बस्नेतले एउटा निकायले मात्र डुबान र बाढीको समस्या गर्न नसक्ने बताए । ‘स्थानीय तहको योजनामा प्रदेशले सहयोग गर्ने हो, सङ्घीय सरकारले लगानी गर्नु पर्छ, प्रदेश सांसद बस्नेतले भने, त्यसको नेतृत्व इटहरी उपमहानगरपालिकाले गर्नु पर्छ, स्रोत परिचालनमा सबैको प्रतिविद्धताले नै काम पुरा गर्न सकिन्छ ।’ अरू वर्षहरूमा भन्दा यो वर्ष इटहरीमा डुबान समस्या कम हुनुको मुख्य कारण भनेको टेङ्ग्रा खोला सफाइले मात्र नभई सेरा खोला डाईभर्ट गर्दा कम समस्या आएको सुनाए ।
आफू प्रदेश सभा सदस्य प्रदेशभरिको नै भएकोले इटहरीको डुबानको समग्र समस्या समाधान कोलागि सङ्घीय सरकारसँग पहल गरिरहेको समेत बताए । सङ्घीय सांसदहरूलाई समेत एकै ठाउँमा राखेर छलफल चलाएको बस्नेतको भनाई छ।
प्रदेश सभा सदस्य मिना श्रेष्ठले इटहरी डुबानको मुख्य कारण भनेको चारकोेशे झाडी, टेङ्ग्रा खोला र सेरा खोला भएको बताइन् । डुबान कसरी र किन भइरहेको छ भन्ने बारेमा आफू त्यही क्षेत्रको सांसद भएकोले पनि धेरै कुरा थाहा भएको उल्लेख गरिन् । उनले प्रदेश सभाको पहिलो दिनको बैठकमा नै इटहरीको डुबान समस्याको विषय आफ्नो प्राथमिकतामा रहेको प्रतिबद्धता जनाएकोले त्यस बारेमा पटक पटक प्रदेश सभामा बोल्दै आएको बताइन् ।
समस्या समाधान गर्ने बारेमा प्रदेश सरकार समक्ष बजेकालागि योजना पेस गरेको भए पनि कतिपय योजनाहरू पुरा हुन नसकेको उनले सुनाइन् । आगामी दिनमा सबै मिलेर समस्या समाधानमा लाग्ने उनको प्रतिबद्धता छ ।