सरकारमा सहभागी हुने निर्णय गरे पनि आन्तरिक विवादमा फसेको नेपाली कांग्रेसलाई फकाउन कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालय विभाजन गर्ने तयारी गरेका छन् ।
दुई पार्टीले ४–४ मन्त्रालय लिने सहमति भए पनि आन्तरिक बाँडफाँटमा सहमति नजुटेका कारण कांग्रेस सरकारमा सहभागी भएको छैन । चार वटा मन्त्रालय पाएको कांग्रेस संस्थापन पक्षले २ वटा राखेर डा. शेखर कोइराला र कृष्णप्रसाद सिटौला पक्षले १–१ दिने तयारी गरेको थियो । तर कोइरालाले दुई वटा मन्त्रालय मागेपछि कांग्रेसमा सहमति जुटेको छैन ।
आन्तरिक सहमति नजुटेपछि शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर मन्त्रालय विभाजन गर्न आग्रह गरेको स्रोतले बताएको छ ।
मन्त्रालय विभाजन गर्ने तयारी भएका कारण कांग्रसले मन्त्रीको नाम नपठाएको स्रोतको दाबी छ । ‘उहाँहरूबीच कुरा भएको भन्ने छ, मुख्यमन्त्रीले गृहकार्य गरिरहनु भएको छ,’ कांग्रेसका एक सांसदले भने, ‘कांग्रेसलाई भाग पुर्याउँदा उहाँले पनि एक मन्त्री थप्न पाउनुहुन्छ ।’
प्रदेशमा हाल ९ वटा मन्त्रालय छन् । थप गरेर ११ बनाउने तयारी छ । ‘हिजोको सहमतिमा मुख्यमन्त्री बाहेक ४–४ मन्त्रालय लिने सहमति हो, अहिले थप गरेर ११ बनाउँदा ५–५ हुन्छ,’ स्रोतले भन्यो, ‘सरकारमा सहभागी हुनका लागि चाहिँ भदौ लाग्ला ।’
आइतबार पत्रकार सम्मेलनमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालय विभाजन गर्नेगरी कार्यबोझ नबढेको बताएका थिए ।
विभाजनका लागि माथिबाट औपचारिक निर्णय वा निर्देशन पनि नआएको उनको भनाइ थियो ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved