इटहरीमा कर्मचारीको कार्यकक्षमा उपमेयर संगीता कुमारी चौधरीले लगाएको तालाबन्दी मेयर हेमकर्ण पौडेलको निर्देशनमा फोडिएको छ । चौधरीको नेतृत्वमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले तत्कालीन प्रशासन महाशाखा प्रमुख सञ्जीव खड्काको कार्यकक्षमा गत माघ ११ गते तालाबन्दी गरेका थिए ।
कर्मचारी सरूवा गर्दा सहमति नगरेको, सरूवा भएका कर्मचारीहरूको सर्भर डाउन गरी आइडी पासवर्ड डिएक्टिभ गरिएको र त्यसले वडाको काम प्रभावित भएको भन्दै चौधरीलसहित एमाले जनप्रतिनिधिहरूले तालाबन्दी गरेका थिए । तर, बुधबार मेयर पौडेलको निर्देशनमा इटहरी ६ का वडाध्यक्ष एवम् उपमहानगरका प्रवक्ता दिवस पोखरेलले ताला फोडेका हुन् ।
कर्मचारी सरूवामा मनपरी गरेको र एमालेबाट निर्वाचित जनप्रतिनिधिसँग सल्लाह नगरिएको भन्दै उपप्रमुख चौधरीसहितका जनप्रतिनिधि आक्रोशित थिए ।
मेयर पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कर्मचारी ट्रेड युनियनहरूद्वारा आन्दोलनको कार्यक्रमसहित प्रेस विज्ञप्ति जारी भएको अवस्थामा २२ माघ २०८१ मा मेरो कार्यकक्षमा उपप्रमुखसहित जनप्रतिनिधिहरूसँग समस्या समाधानका निम्ति छलफल भएको थियो । तर, प्रशासन शाखामा लगाइएको ताला खोल्ने विषयमा सहमति हुन सकेन ।’
पालिकामा जनप्रतिनिधि र कर्मचारीहरूको सहकार्य र एकापसको आत्मसम्मानसहित सेवाग्राहीलाई सेवा दिनुपर्ने भएपनि तालाबन्दीका कारण काम ठप्प भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । तालाबन्दीका कारण दैनिक कामकाजमा समस्या भएको भन्दै ताला फोड्न निर्देशन दिएको मेयर पौडेलले जनाए ।
उपमेयर चौधरीका अनुसार आज (बिहीबार) पुनः छलफल गर्ने तयारी छ । उक्त छलफलमा पनि सहमति जुटेन भने मेयरकै कार्यकक्षमा ताला लाग्ने उनले चेतावनी दिइन् ।
यसअघि १३ माघमा एकीकृत सरकारी कर्मचारी सङ्गठन सुनसरी, राष्ट्रिय कर्मचारी सङ्गठन सुनसरी, नेपाल निजामती युनियन सुनसरी र नेपाल निजामती कर्मचारी युनियन इटहरी कमिटीले संयुक्त विज्ञप्ति सार्वजनिक गरी उपमेयर चौधरीलाई आत्मआलोचना गर्न र ताला खोल्न ४८ घण्टे अल्टिमेटम दिएका थिए ।
मेयर पौडेलले उक्त विज्ञप्ति बुझ्दै आफूले सो समयभित्र विवाद समाधान गर्ने उल्लेख गरेका थिए । तर, विवाद समाधान हुने भन्दा पनि विवाद उत्कर्षमा पुगेको हो ।
Copyright © 2019 / 2025 - Junkirikhabar.com All rights reserved