समुदायिक स्तरबाट इटहरीमा सञ्चालित जनता बहुमुखी क्याम्पसले विदेशी दुईवटा प्रतिष्ठित विश्वविद्यालयसँग सम्झौता गरेको छ । जनता क्याम्पसले पहिलोपल्ट भारतको हरियाणमा रहेको बाबा मस्तनाथ र भारतकै राजस्थानमा रहेको श्री जे जे टि विश्वविद्यालयसँग सम्झौता गरेको हो ।
बाबा मस्तनाथ विश्वविद्यालयसँग यही असार २४ गते जनता क्याम्पसको टोली त्यहाँ गएर सम्झौता गरेको हो । सो क्रममा बाबा मस्तनाथ विश्वविद्यालयका कुलपति प्रोफेसर डाक्टर एचएल बर्मा, रजिष्ट्रार प्रोफेसर डाक्टर बिनोदकुमार, सहायक रजिष्ट्रारसहित अन्य विभागीय प्रमुख र जनता बहुमुखी क्याम्पसका तर्फबाट सञ्चालक समितिका अध्यक्ष विकास केसी खत्री नेतृत्वको टोली सहभागी रहेको सम्झौताबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उल्खेख गरियो ।
पाँच वर्षे सम्झौतामा दुवै संस्थाबीच शैक्षिक, अनुसन्धान र साँस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्ने उल्लेख गरिएको छ । बाबा मस्तनाथ विश्वविद्यालय सन् २००२ मा स्थापित भएर प्राविधिक, चिकित्सा, मानविकी र सामाजिक विज्ञानका क्षेत्रमा स्नातक, स्नातकोत्तर तथा अनुसन्धानका कार्यक्रम हुँदै आएको छ ।
यस्तै, भारतको राजस्थानमा रहेको श्री जे जे टि विश्वविद्यालयसँग असार २५ गते पाँच वर्षे सम्झौता गरिएको जानकारी दिइयो । श्री जे जे टि विश्वविद्यालयमा विज्ञान, इन्जिनियरिङ्, व्यवस्थापन र समाजशास्त्र क्षेत्रमा स्नातक र स्नातकोत्तर कार्यक्रम उपलब्ध छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved