• भदौ ६, २०८२
  • जुनकिरी खबर

कोशीका सभामुख हटाउने कसरत

alt

सङ्घीय संसद्को उपसभामुख इन्दिरा रानालाई हटाउने प्रयास गरेको सत्तारुढ गठबन्धनले कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टलाई पनि हटाउनेबारे छलफल थालेको छ । कोशीमा दुई दलको दुई तिहाइ बहुमत रहेकोले राप्रपाबाट निर्वाचित अम्बरबहादुर विष्टलाई हटाउनेबारे दुई दलबिच छलफल भएको हो ।
 
यसअघि दुई दलको प्रदेशस्तरीय शीर्ष तहमा सभामुखलाई हटाउनेबारे छलफल भएपनि केन्द्रको राय लिएर अगाडि बढ्ने तय भएको नेताहरूले बताएका छन् । खासगरी नेकपा एमालेले बिष्टलाई सभामुखबाट हटाएर काँग्रेसलाई सभामुख लिन आग्रह गरेको छ । तर, काँग्रेसभित्र सङ्घीय उपसभामुख हटाउने सहमति नजुटेजस्तो प्रदेशको सभामुख हटाउने बारेमा एकमत भइनसकेकोले निर्णय भइसकेको छैन ।
 
नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका प्रदेशसभा सदस्य भीम पराजुलीले सभामुख हटाउने चर्चा भएको सुनेपनि छलफलमा आफू सहभागी नभएको बताएका छन् । अहिले सभामुखलाई हटाउनुपर्ने गरी उनले कुनै गल्ती नगरेकोले त्यसो गर्न नहुने उनको भनाइ छ ।
 
नेकपा एमालेको प्रमुख सचेतक विदुर लिङथेपले केन्द्रमा राप्रपाले निहुँ खोज्दा राप्रपाबाट निर्वाचित सभामुख हटाउनेबारे छलफल भएको स्वीकार गर्दै निर्णय भइनसकेको जानकारी दिएका छन् ।
 
"राप्रपाले केन्द्रमा निहुँ खोजिरहने हो भने उसको सभामुख किन राख्नु भन्ने प्रश्न उठेको छ’ उनले भने," तर, अहिले सभामुखलाई हटाउनेगरि उनले कुनै गल्ती नगरेकोले निर्णय भएको छैन ।’ लिङथेपले काँग्रेसको चाहना सभामुख हटाएर आफू लिने रहेको सङ्केत गरेका छन् । तर, काँग्रेस नेताहरू भने एमालेले नै सभामुख हटाएर काँग्रेसले लिँदा हुन्छ भन्ने प्रस्ताव गरेको दाबी गर्छन् ।
 
नेपाली काँग्रेस संसदीय दलका नेता उद्धब थापाले अन्य दलबाट निर्वाचित भएका सबै सभामुख र उपसभामुख हटाउनेबारे केन्द्रमा छलफल भएको स्वीकार गर्दै केन्द्रले कुनै निर्देशन भने दिइनसकेको बताएका छन् । गठबन्धन अनुसार प्याकेजमै सभामुख र उपसभामुख हटाउनुपर्छ भन्ने छलफल भएको उनको भनाइ छ । 'केन्द्रका उपसभामुख हटाएपछि प्रदेशबारे निर्णय हुने जानकारी आएको छ’ उनले भने ।
 
सभामुख हटाउने चर्चाको विषय बुधबार प्रदेशसभाको बैठकमा पनि प्रवेश भएको छ । बैठकको शून्य समयमा बोल्दै माओवादी केन्द्रका सांसद गणेश उप्रेती सुशीलले कोशीका सभामुख विष्टलाई पनि हटाउन 'बन्द कोठा’मा तयारी भइरहेको सूचना रहेको बताए ।
 
'म गठबन्धनलाई प्रश्न गर्न चाहन्छु। हिजो के भनेर काँग्रेस र एमालेकै सहमतिमा यहाँको सभामुख नियुक्ति गरियो ? अहिले उहाँहरू फेरि यहाँको सभामुखलाई पनि हटाउने बन्द कोठाभित्र छलफल गरिरहेको र मिडिया ट्रायल भएको बुझिएको छ’ उनले भने, 'के आधारमा तपाईँहरूले यस्तो गरिरहनु भएको छ ? केन्द्रमा उपसभामुख र प्रदेशको सभामुखलाई बिना कारण हटाउनको लागि भइरहेको गलत हर्कतको घोर भर्त्सना गर्न चाहन्छु।’
 
पूर्वमुख्यमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका नेता केदार कार्कीले पनि प्रदेशको सभामुख हटाउने विषय अगाडि ल्याउन खोजिएको भन्दै असन्तुष्टि जनाएका थिए । 'व्यवस्था मानेर आइसकेको कुनै एउटा पार्टीबाट निर्वाचित सभामुखलाई बिना कारण राप्रपाकै भएको कारण हटाउने कुरा हुँदैन, हामी दिँदैनौं,’ उनले भने ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]