नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अवसरमा राति १० बजेसम्म मात्रै देउसीभैलो खेल्न सुनसरी प्रशासनले अनुरोध गरेको छ । दीपावली, छठ र नेपाल संवतका अवसरमा जिल्ला प्रशासन कार्यालय सुनसरीले एक सूचना जारी गर्दै भयरहित वातावरणमा पर्व मनाउन आग्रह गरेको छ ।
खासगरी कानूनको पूर्ण पालना गर्दै देउसी, भैलो, नाचगान जस्ता क्रियाकलापहरू राति १० बजेसम्म मात्र शान्तिपूर्ण रूपमा सञ्चालन गर्न आग्रह गरिएको छ । यसैगरी पटका, आतिसवाजी, जस्ता विष्फोटकजन्य पदार्थ नपड्काउने साथै त्यस्ता पदार्थहरूको निकासी, ओसारपसार एवं विक्री वितरण नगर्न आग्रह गरिएको छ ।
‘मादक पदार्थको सेवन गरी सार्वजनिक शान्ति, सुरक्षालाई असर पर्नेगरी सार्वजनिक स्थानमा हो–हल्ला एवं झै–झगडा जस्ता कार्य नगर्ने, भीडभाडजन्य गतिविधि गरी समाजमा अशान्ति एवं अशोभनीय क्रियाकलापहरू नगर्ने, देउसीभैलो कार्यक्रम सार्वजनिक यातायात र जीवनलाई असर नपर्ने गरी मर्यादित र अनुशासित रुपमा सञ्चालन गर्ने,गराउने,’ सूचनामा भनिएको छ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved