सूर्यदेवको आराधना गरी ४ दिनसम्म मनाइने छठ पर्व शनिबारदेखि विधिवत् रूपमा सुरु भएको छ । छठ पूजाको आज पहिलो दिन ‘नहाय–खाय’ मनाइँदै छ । आजको दिन व्रतालुहरूले नदी वा पोखरीमा स्नान गरी अरुवा–अर्बाइन भोजन ग्रहण गर्ने परम्परा छ ।
पारिवारिक सुख, समृद्धि र सन्तानको कल्याणको कामनासहित मनाइने यस पर्वको दोस्रो दिन आइतबार खरना रहेको छ । आइतबार साँझ व्रतालुहरूले चामल, सक्खर र दूधबाट खीर बनाएर प्रसाद स्वरूप ग्रहण गरी खरना विधि गर्ने गरिन्छ ।
तेस्रो दिन सोमबार छठको मुख्य दिन सौझकारकका रूपमा मनाइन्छ । यस दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्रीसहित जलाशय किनारमा अर्घ दिने चलन छ ।
अन्तिम दिन मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधिवत् समापन हुनेछ । अन्तिम दिनलाई ‘पारन’ भनिन्छ । छठ पर्वमा बाँसको ढाकी, डगरी, माटोको कोसिया–कुरबार, हात्ती आदिसहितका सामग्री अर्पण गरिन्छ ।
त्यस्तै ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हर्दी, अदुवा, तरकारी, मिठाई तथा विभिन्न फलफूल प्रसादका रूपमा सूर्यदेवलाई अर्घ अर्पण गरिन्छ। अर्घ दिने व्रतालुले ४८ घण्टासम्म अन्न र पानी त्यागेर व्रत बस्ने परम्परा छ, त्यसैले छठलाई निष्ठा र कठोर साधनाको पर्व मानिन्छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर चढाइएको सामग्री प्रसादका रूपमा ग्रहण र वितरण गरिने भएकाले यो पर्व सामाजिक सद्भाव र एकताको प्रतीकका रूपमा पनि लिइन्छ ।
तराई–मधेसका बजारहरूमा अहिले पूजा सामग्री किनमेलको चहलपहल छ भने नदी, पोखरी र जलाशयका घाटहरू आकर्षक रूपमा सजाइँदै छन् ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved