कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले आफ्नै घरमा बसेर आवास सुविधा लिएको विवाद सतहमा आएको छ । सामाजिक सञ्जालमा मन्त्रीले घरैमा बसेर भाडा लिएको भन्ने विवाद आएपछि प्रदेशका मन्त्री देखी प्रदेश संरचनाकै विषयमा टीकाटिप्पणी सुरु भएको हो ।
मन्त्रीले घर भाडा बापत मासिक २९ हजार बुझेको र आफ्नै घरमा बस्दै आएको समाचार बाहिर आएपछि चर्चा चुलिएको हो । पत्रकारले माग गरेको सूचनामा उल्लेख गरिएको विवरण अनुसार मन्त्रीले आवास सुविधा बापत मासिक २९ हजार लिएको देखिन्छ ।
भण्डारी सुनसरीको इटहरी स्थित आफ्नै घरमा बस्दै आएका छन् । २०८१ मङ्सिर १७ गते मन्त्री बनेका भण्डारीले विगत १० महिनाको अवधिमा घर भाडाबापत मात्रै २ लाख ९० हजार रुपैयाँ बुझिसकेका छन् । आवास सुविधाबापत २५ हजार, सञ्चार सुविधा २ हजार र बिजुली–पानीबापत २ हजार गरी मासिक २९ हजार रुपैयाँ लिएका हुन् । त्यस बाहेक भण्डारीले मासिक ५२ हजार तलब बुझ्ने गरेका छन् ।
भण्डारीले बाहिर आएका समाचारको खण्डन गर्दै सत्य तथ्य सूचना सार्वजनिक गर्न अपिल गरेका छन् । मन्त्रीलाई आवासको सुविधा सरकारले उपलब्ध गराउने र त्यसमा आवास उपलब्ध नभए २९ हजार दिने गरेको उनको भनाइ छ । मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी ऐन २०७५ को दफा ४ को उपदफा ३ मा उल्लेख भए अनुसार नै सेवा सुविधा लिएको भण्डारीको दाबी छ ।
भाडा लिएको विवाद सतहमा आएपछि शुक्रवार खण्डन जारी गर्दै उनले सरकारको खर्च जोगाएर आफ्नै घरमा बसेको र घरमा बस्दा पनि कानुनमा उल्लेख भए अनुसार पाउने खर्च मात्र लिएको प्रस्ट पारे । सुरक्षाकर्मी, ड्राइभर र स्वकीय सचिवको लागि बस्ने व्यवस्था आफैले मिलाएको भन्दै उनले अनावश्यक प्रचार नगर्न चेतावनी दिएका छन् ।
मातहतका कार्यालयबाट हुने भ्रष्टाचार र अनियमितता रोक्न अधिकतम प्रयास गरिरहेको बताउँदै भण्डारीले एक दिन सत्य उजागर हुने उल्लेख गरे ।
भाडामा बस्दा हुने अतिरिक्त खर्च जोगाउन घरैमा बसेको र घरमा बस्दा सरकारले दिएको न्यूनतम सुविधा स्वाभाविक रूपमा प्राप्त हुने भण्डारीको दाबी छ ।