• माघ २३, २०८२
  • जुनकिरी खबर

सुनसरी २ मा कसको पल्ला भारी ?

alt

नेपाली काँग्रेस र नेकपा एमाले बिच सीमित रहँदै आएको प्रतिस्पर्धा यस पटक सुनसरी २ मा भने चौकोणात्मक बन्दै गएको छ । नेपाली काँग्रेसका राजीव कोइराला, नेकपा एमालेका सुजन लामा, माओवादी केन्द्रकी रामकुमारी चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टीका लालविक्रम थापा चारै जना फरक पृष्ठभूमि, फरक राजनीतिक पुँजी र फरक मतदाता समूहका प्रतिनिधि हुन् । यही कारण सुनसरी–२ को चुनावी गणित सरल न भएको आम मतदाताको बुझाई छ ।

२०७९ सालको निर्वाचनमा एमालेका भीम आचार्य विजयी हुँदा काँग्रेससँगको मतान्तर फराकिलो थियो । आचार्यले ३२ हजार ८ मत ल्याएर जित हात पार्दा निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सीताराम मेहताले २६ हजार ५८ मत मात्र पाएका थिए । त्यस बेला खासै चर्चा नभएको रास्वपाका उम्मेदवार लालविक्रम थापाले १९ हजार ३ सय ८६ मत पाएका थिए । त्यस निर्वाचनले एमालेको सङ्गठनात्मक बल राम्रो देखाएको थियो । त्यसपछि आएका राजनीतिक घटनाक्रम—सरकार निर्माणका अस्थिर समीकरण, सुशासन र अर्थतन्त्रका सवाल—ले परम्परागत दलप्रति जनविश्वास क्षय भएको सङ्केत दिएको विश्लेषकहरूको बुझाई छ ।
 
सुनसरी–२ को मतदाता संरचना आफैँमा निर्णायक छ । १ लाख ५८ हजारभन्दा बढी मतदाता रहेको यस क्षेत्रमा थारु समुदायको उल्लेख्य उपस्थिति छ । यससँगै इटहरी र इनरुवाका सहरी मतदाता, युवा र वैदेशिक रोजगारीमा संलग्न परिवारको प्रभाव पनि बढ्दो छ । यही मिश्रित मतदाता संरचनाले चुनावी नतिजालाई अनिश्चित बनाइरहेको छ । काँग्रेस उम्मेदवार राजीव कोइराला अनुभवी राजनीतिज्ञ हुन् ।
 
कोसी प्रदेशसभामा प्रमुख प्रतिपक्ष दलको नेताको भूमिकाले उनलाई नीति, पहुँच र राजनीतिक अभ्यासको बल दिएको छ । तर काँग्रेसका लागि चुनौती भनेको परम्परागत मतदाता उत्साहित राख्न सक्ने कि नसक्ने भन्ने रहेको छ । आफ्नो अनुभव, पहुँच र सङ्गठनात्मक बलकै आधारमा जित सुनिश्चित हुने कोइरालाको दाबी छ ।  एमालेले उम्मेदवार बनाएको इटहरीका युवा नेता सुजन लामा युवा संघ कोसी प्रदेश संयोजक हुन । युवा केन्द्रित राजनीति गरेका उनी जनतासँग खासै परिचित नभएको उनकै सहकर्मीहरू बताउँछन् ।
 
एमालेको गुटगत प्रभावका कारण रेवती रमण भण्डारीलाई दिइसकेको टिकट समेत शेरधन राईको दबाबमा अन्तिम समयमा लामालाई दिइएको हो ।
तर एमालेका लामा युवा अनुहार भए पनि उनी एक्लै उम्मेदवार होइनन्, एमालेको सङ्गठन नै उनको मुख्य शक्ति हो । अघिल्लो जितको निरन्तरता एमालेको प्रमुख लक्ष्य भएपनि यस क्षेत्रको टिकट वितरणले एमाले आलोचनाबाट मुक्त छैन । यद्यपि एमालेको राम्रो सङ्गठन रहेकोले आफू चुनाव जित्नेमा ढुक्क रहेको लामाको दाबी छ । 
नेपाली कम्युनिस्ट पार्टीकी रामकुमारी चौधरी यस क्षेत्रकी लोकप्रिय उम्मेदवार हुन । थारु समुदायसँगको पहिचान र पूर्व राज्यमन्त्रीको अनुभव समेत उनले गरिसकेकी छन् । थारु मत उल्लेख्य रूपमा एकीकृत हुने र त्यो नै निर्णायक बन्ने चौधरीको दाबी छ ।
 
राष्ट्रिय स्वतन्त्र पार्टीका लालविक्रम थापा गत निर्वाचनपछि एकाएक चर्चामा आएका हुन । पुराना दलप्रति असन्तुष्ट, परिवर्तन खोज्ने र ‘नयाँ राजनीति’मा विश्वास गर्ने मतदाताको झुकाव उनको पक्षमा जान सक्ने देखिन्छ । राष्ट्रिय लहर स्थानीय मतमा  रूपान्तरण हुने र त्यही मतले आफू चुनाव जित्ने थापाको दाबी छ । सुनसरी–२ मा कोइराला, लामा, चौधरी र थापा बाहेक ९ जना स्वतन्त्र सहित २८ जनाले उम्मेदवारी दिएका छन् । यहाँको परिणाम कुनै एक दलको रणनीतिले मात्र होइन, मत विभाजन, अन्तिम चरणको प्रचार, उम्मेदवारको व्यक्तिगत विश्वसनीयता र मतदाताको अन्तिम मनोविज्ञानले तय गर्नेछ ।
 
सुनसरी २ को नतिजाले कोसी प्रदेशमा पुरानो राजनीति कति मजबुत छ र नयाँ राजनीतिक चेतनाले कतिको गहिरो प्रभाव पारेको छ भन्ने स्पष्ट सन्देश दिने बिष्लेषको बुझाई छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]