नेपाल विद्युत् प्राधिकरणले ६० दिनसम्म पनि बिजुलीको बिल नतिर्ने ग्राहकको लाइन काट्ने अभियान तीब्र बनाएको छ। प्राधिकरण विराटनगर वितरण केन्द्रले विद्युत् सेवा उपभोग गरी महशुल नतिर्ने ग्राहकको लाइन ६० दिन कट्ने वित्तिकै काट्ने कार्यलाई तीब्र बनाएको हो। प्राधिकरणले चालू आर्थिक वर्षको सुरुवातदेखि नै यो अभियान सुरु गरेको थियो।
उक्त अभियानबाट साउनयता २८६ जना सेवाग्राहीको लाइन काटेको छ भने २ करोड २० लाख रुपैयाँ बक्यौता असुल गरेको प्राधिकरण प्रमुख राजिव सिंहले जानकारी दिए। प्राधिकरणले साउनमा १८, भदौमा ११२, असोजमा १०३ र कार्तिकको १९ गतेसम्ममा ५३ जना ग्राहकको लाइन काटेको हो।
यो अभियान अझै तीब्र पारिने सिंहको भनाइ छ। चालू आर्थिक वर्षको प्रथम चौमासिकमा गत आर्थिक वर्ष बराबरको बक्यौता अशुल गरिसकेको छ। विराटनगर वितरण केन्द्रले चुहावट नियन्त्रणलाई अभियानकै रुपमा संचालन गरी यस वर्षको चुहावट ७.३७ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ। गत आर्थिक वर्षमा प्राधिकरण विराटनगर वितरण केन्द्रको चुहावट ९.६८ प्रतिशत थियो। यो वितरण केन्द्रले ५ वटा ३३ केभिए र २० वटा ११ केभीए फिडरबाट ६८ हजार ३८६ ग्राहकलाई विद्युत् पुर्याउँदै आएको छ। विराटनगरमा अहिलेसम्म ७५ मेगावाट विद्युतको उच्चतम माग रहेको छ। प्राधिकरणले चालू आर्थिक वर्षमा चुहावट नियन्त्रणका साथै प्राधिकरणको भोल्टेजलाई सुधार गर्ने, मिटर रिडिङ कार्यलाई थप व्यवस्थि बनाई डोर लक घटाउने र अनलाइन पेमेन्टको प्रतिशत बढाउने, कार्यालयलाई सेवाग्राहीमैत्री, डिजिटलाइज र पेपेर लेस बनाउँदै जाने तथा खरिद प्रक्रियालाई थप व्यवस्थित बनाउँदै सोझै खरिदलाई क्रमशः न्यूनीकरण गरी एसक्यू र टेन्टरलाई प्राथमिकता दिने लक्ष्य लिएको छ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved