नदीजन्य वस्तु उत्खननमा प्रतिबन्धित झापा–इलाम सीमाको चुरे क्षेत्रमा तीव्र रूपमा दोहन भइरहेको छ । दोहन धेरै भएपछि इलामको रोङ गाउँपालिकावासीले सोमबार झापातर्फ बग्ने सिद्धि नहरको पानी बन्द गरिदिए । चुरे क्षेत्रको ढुंगा उठाउँदै गरेका चारवटा ट्याक्टर समेत स्थानीयले नियन्त्रणमा लिए ।
गत मंगलबार रोङ–६ का वडाध्यक्ष मणिकुमार स्याङ्बोको नेतृत्वमा स्थानीयले ट्याक्टरनियन्त्रणमा लिई सलकपुर प्रहरीचौकीमा बुझाइएका थिए । ढुंगा उठाउने ट्याक्टरका धनीलाई गाउँपालिकाले प्रतिट्याक्टर १० हजार जरिवाना तोकेको छ । ‘उत्खनन गर्नै नमिल्ने क्षेत्रबाट ढुंगा तस्करी भइरहेको थाहा पाएपछि स्थानीयले विरोधमा नहरको पानी बन्द गरेका हुन्,’ वडाध्यक्ष स्याङ्बोले भने ।
दुवै जिल्लाका स्थानीय तहका जनप्रतिनिधि र सिंचाइ उपभोक्ताको रोहबरमा सम्झौता भए मात्रै नहर सञ्चालन गरिने स्थानीयको भनाइ छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved