स्थानीयको अवरोधको कारणले सप्तकोशी नदिमा सञ्चालनमा रहेका पानी जहाज बन्द भएको छ ।
व्यवसायीका अनुसार कमिसन, रोजगारी, बुकिङ र स्थानीय दादागिरीलगायतका विभिन्न समस्याले बन्द गर्नु परेको हो ।
व्यवसायीले वैद्यानिक भाडादर, सुरक्षालगायतको माग गर्दै यातायात सेवा बन्द गरेको व्यवसायीहरूले बिहीबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएका थिए ।
जल यातायात बुधबारदेखि पूर्ण रूपमा बन्द गरेको नेपाल जलयातायता व्यवसायी महासंघका केन्द्रीय सदस्य राजन कार्कीले बताए ।
‘कानूनी रूपमा भाडादर नतोकिँदा स्थानीयबाट अवरोध भएको छ,’ उनले भने, ‘त्यहाँको दादागिरी मुख्यगरी कमिसनको लागि हुने गरेको छ ।’
भारतको विहारबाट आएका ६ जना पर्यटकसहित गएको जहाजलाई धनकुटाको सहितभूमि गाउँपालिकामा ६ घण्टाभन्दा बढी समय बन्द जस्तै राखिएपछि बन्द गर्न बाध्य भएको उनले बताए ।
सप्तकोशीमा जलयातायात सुरु भएको २ वर्ष भए पनि स्थानीयको अवरोधले लगानी नै डुब्ने अवस्था सिर्जना भएपछि बन्द गर्नु परेको व्यवसायी बताउँछन् ।
स्थानीय यात्रुमध्ये झण्डै १० प्रतिशतलाई निःशुल्क चढाउनुपर्ने अवस्था रहेको सप्तोकोशी टुरिज्म एण्ड वाटर ट्रान्सपोर्टेसन प्रालिका सञ्चालकसमेत रहेका राजेन्द्र कार्कीले बताए ।
विभिन्न समस्याका बीच सेवा प्रवाह गरे पनि केही दिनदेखि जहाज बाँधेर रोकिदिने, धाकधम्की दिने साथै असुरक्षा महसुस भएपछि उचित समाधान र सुरक्षाको प्रत्याभूत नभएसम्म बन्द गर्ने महासंघले जनाएको छ ।
सुनसरीको चतरादेखि भोजपुरको हचुवागढी गाउँपालिका, हसनपुरसम्मको लागि ४ वटा कम्पनीले जलयातायात सञ्चालन गरिरहेका थिए ।
उक्त रुटको २१ किलोमिटर यात्राको लागि सप्तकोशीमा ७ वटा जहाज सञ्चालनमा रहेका छन् ।
एकतर्फी भाडा प्रतिव्यक्ति ५ सय रहेको छ । दैनिक ५ देखि ७ सयले यात्रा गरिरहेका छन् ।
बंगलादेश, भारत र भुटानका प्रर्यटक पनि उल्लेख्य उपस्थिति रहने गरेको सञ्चालक कार्कीले बताए ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved