विराटनगरको कोसी अञ्चल अस्पतालको नयाँ भवन निर्माणका लागि क्षयरोग निवारण संस्थाले निर्माण गरेको भवन भत्काइने भएको छ । आईसीयू भवन बनाउन संघीय सरकारबाट बजेट विनियोजन भएपनि जग्गा अपुग भएपछि २०१६ सालमा क्षयरोग निवारण संस्थालाई दिएको जग्गामा बनेको भवन भत्काउन लागिएको हो ।
सरकारी स्वामित्वमा रहेको अस्पतालको नाममा मुख्य बजारमा ५ बिघा १० कट्ठा जग्गा छ । जस मध्ये विराटनगर अस्पताल चोकमा रहेको गणेश मन्दिरले १ कट्ठा १० धुर, देवकोटा पुस्तकालयले २ कट्ठा, रेडक्रस सोसाइटीले १ कट्ठा १३ धुर र क्षयरोग निवारण संस्थाले ८ कट्ठा १० जग्गा प्रयोग गर्दै आएका छन् ।
कोसी अस्पतालको जग्गामा उपचार गृह आवाससहितका संचरचनाले भरिएका छन् । नयाँ भवनका लागि बजेट आएपनि जग्गा नभएका कारण क्षयरोग निवारण संस्थालाई दिइएको जग्गामा निर्माण भएको एउटा भवन भत्काउने सहमति भएको कोसी अस्पतालको मेडिकल सुपरीटेण्डेन्ट डाक्टर संगिता मिश्रले बताइन् ।
कोसी अस्पताल सञ्चालनमा आर्थिक अवस्थाका कारण धौ धौ छ । तर अस्पतालकै जग्गामा बसेका चारवटा संस्थाले भने आफ्नो भवन भाडामा लगाएर आम्दानी गरिरहेका छन् । संघिय सरकारबाट संरचना निर्माणका लागि ४० करोड बजेट विनियोजन भएपछि बुधबार अस्पतालले भवन निर्माणका लागि सार्वजनिक छलफल आह्वान गरेको थियो ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved