मंगलबार रातिबाट पृथ्वी नजिकै आउने भनिएको छुद्र ग्रह (एस्टोरोइड) देखि आत्तिइहाल्नुपर्ने अवस्था नरहेको नासाले जनाएको छ। नासाका प्लानेटरी डिफेन्स अफिसर लिन्डी जोनशनले नासा टीभीको लाइभ कार्यक्रममा सोधिएको प्रश्नमा अप्रिल २९ मा पृथ्वीको नजिक आउने उक्त छुद्र ग्रहबाट कुनै खतरा नरहेको बताएका हुन्।
'१९९८–ओआर–२' नाम गरेको उक्त छुद्र ग्रहलाई नासाले २० वर्षदेखि ट्र्याक गर्दै आइरहेको नासाका जेट प्रपलसन ल्याबोरोटरीस्थित सेन्टर फर नियर अर्थ अब्जेक्ट स्टडिज (सिनियोस) का निर्देशक पल्स चोडसले उल्लेख गरेका छन्।
नासाका अनुसार यो छुद्र ग्रहको चौडाइ २ देखि ३ किलोमिटर र १ देखि २ माइल लम्बाइ रहेको छ। पृथ्वी नजिक आउने आकाशीय पिण्डहरुमध्ये केही ठूलो भएकाले यसलाई नासाले ट्र्याक गरेको जनाइएको छ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले सोमबार एक विज्ञप्ति जारी गर्दै यो छुद्र ग्रहबाट आत्तिनुपर्ने अवस्था नरहेको बताएको छ। नासोको अनुसार छुद्र ग्रह पृथ्वीभन्दा ६२ लाख ८२ हजार किलोमिटर टाढा रहनेछ। यो दुरी चन्द्रमा र पृथ्वीबीचको दुरीभन्दा १६ गुणाले टाढा हो। पृथ्वी र चन्द्रामा बीचको दुरी ३ लाख ८४ हजार किलोमिटर छ।
प्राध्यापक एवं कस्मोलोजिस्ट उदयराज खनालले यो ग्रह धेरै टाढा भएकाले पृथ्वीमा आउने कुनै सम्भावना नरहेको बताए। पृथ्वीमा अन्यत्रबाट धुलो, कण तथा आकाशीय पिण्ड खस्ने गरेको उनको भनाइ छ।
अन्तरिक्ष विज्ञानमा विद्यावारिधि गरेका त्रिभुवन विश्वविद्यालय केन्द्रीय भौतिक विज्ञान विभागका प्रमुख विपीन अर्यालका अनुसार यो छुद्र ग्रह अन्य छुद्र ग्रहको तुलानामा ठूलो हो। 'ठूलो भए पनि पृथ्वी र चन्द्रामाबीचको दूरीभन्दा धेरै गुणा टाढा हुने भएकाले खतरा छैन,' उनले भने।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved